भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कर्मचारीका लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ।
असार १६ गते मन्त्रीस्तरीय निर्णयबाट जारी आचारसंहितामा कर्मचारीहरूले सामाजिक सञ्जालमा के के गर्न नपाउने भन्ने उल्लेख छ।
११ बुँदे आचारसंहिताको आठौं बुँदामा सामाजिक सञ्जाल तथा सार्वजनकि सूचना संयन्त्रको प्रयोगसम्बन्धी व्यवस्था छन्, जस अनुसार नेपाल सरकार वा मन्त्रालयबाट भएका निर्णयको गलत अर्थ लाग्ने गरी भ्रामक सूचना प्रचारप्रसार रोक लगाइएको छ।
आफूलाई परेको पीरमर्का वा गुनासो पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्याममा होइन, मन्त्रालयको सुपरीवेक्षक वा गुनासो सुनुवाई संयन्त्रमा राख्नुपर्ने आचारसंहितामा उल्लेख छ।
त्यस्तै, मन्त्रालयका कर्मचारीले कुनै पनि निकायका पदाधिकारीले सम्पादन गरेका कामबारे सामाजिक सञ्जाल वा अनलाइनमा प्रकाशन भएका समाचारमा व्यंग्य वा टिप्पणी गर्न नपाइने भएको छ।
'सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशन भएका समाचारमा प्रतिक्रिया लेखी कुनै पनि निकायका पदाधिकारीबाट सम्पादन गरिएका काम-कारबाहीका सम्बन्धमा व्यक्तिगत मान, सम्मान र मर्यादामा आँच पुग्ने गरी व्यंग्य वा टिप्पणी गर्न हुँदैन,' संहितामा उल्लेख छ।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, विभिन्न समुदाय, व्यक्ति, संस्थाहरूको आपसी सम्बन्धमा प्रतिकूल असर पार्ने प्रकृतिका धारणा तथा राजनीतिक पूर्वाग्रहयुक्त टिप्पणी गर्न नहुने भनिएको छ।
आचारसंहिता अनुसार ड्युटीको समयमा कार्यालय पोसाकमा फोटो/भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न पाइने छैन।
'कार्यालयको काममा रहेको समयमा, कार्यालय वा परिसरमा वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोसाकमा कार्यालयसँग सम्बन्धित प्रबर्द्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो वा भिडिओ सामाग्री निर्माण गर्न वा सामाजिक सञ्जालमा राख्न हुँदैन,' आचारसंहितामा भनिएको छ।
त्यस्तै, कार्यालय समय बाहेकको समयमा पनि सामाजिक सञ्जालहरू प्रयोग गर्दा सेवाको मर्म र आस्थामा आँच नआउने गरी गर्न भनिएको छ।
'कार्यालय समयबाहेक फेसबुक, ट्विटर, ह्वाट्स एप, लिंक्डइन, टिकटक जस्ता सामाजिक सञ्जालहरू प्रयोग गर्दा सेवाको मर्म र आस्थामा आँच नआउने गरी व्यावसायिक आचारसंहिताको अधिनमा रही उच्चतम सतर्कता अपनाउनुपर्छ,' आचारसंहितामा भनिएको छ।
उक्त मन्त्रालय अन्तर्गतका कर्मचारीले सरकारी सेवाको गरिमामा आँच आउने गरी सामाजिक सञ्जाल प्रयोग गर्न पाइने छैन।
'सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको गरिमामा आँच आउने, कर्मचारीको मानमर्दन हुने तथा जनमानसमा भ्रम एवं अविश्वास पैदा हुने, प्रचलित कानुन र व्यावसायिक मर्यादाले अस्वीकार गर्ने किसिमका श्रव्य दृश्य सामग्रीहरू राख्न तथा सेयर गर्न हुँदैन,' आचारसंहितामा भनिएको छ।
यसबाहेक कर्मचारीहरूले कार्यालयभित्र र बाहिर रहँदा पालना गर्नुपर्ने आचारसंहिता पनि उल्लेख छन्। यसमा स्वार्थको द्वन्द्व हुने गरी निर्णय नगर्न, सेवाग्राहीलाई उचित सम्मानका साथ व्यवहार गर्न, विभेद नगर्न, तोकिएको समयमा काम सम्पन्न गर्न, बेरूजु फर्छ्यौट गर्न, कार्यालयको स्वीकृति बेगर मन्त्रालयको कामसँग सम्बन्धित संस्था वा व्यक्तिबाट कुनै उपहार, आतिथ्य तथा आफूलाई फाइदा पुग्ने कार्य स्वीकार गर्न नहुने लगायत छन्।
यो आचारसंहिता लागू भए/नभएको अनुगमन मन्त्रालयका सचिव तथा उनले तोकेको कर्मचारीले गर्ने उल्लेख छ।