अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट फैलिएको डढेलोको धुवाँका कारण अमेरिकी सहरहरू प्रभावित भएको भन्दै क्यानडामाथि नयाँ ट्यारिफ लगाउने चेतावनी दिएका छन्।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत अमेरिका 'फोहोर, प्रदूषित र स्वास्थ्यका लागि हानिकारक हावाले अनावश्यक रूपमा आक्रमणमा परेको' बताएका छन्।
उनले यो अवस्था खतरनाक र पूर्ण रूपमा अस्वीकार्य रहेको उल्लेख गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग यस विषयमा छलफल गर्ने जानकारी दिएका छन्।
'यस्तो अवस्था आउने निश्चित हुँदाहुँदै पनि क्यानडाले वन व्यवस्थापन र जंगलमा थुप्रिएको सुख्खा अवशेष हटाउने आधारभूत काम गरेन। यो जानाजानी गरिएको लापरबाही हो। यसले अमेरिकालाई अर्बौं डलरको नोक्सानी भइरहेको छ। त्यसैले यो प्रदूषणबाट भएको क्षतिको लागत क्यानडाले अहिले तिरिरहेको ट्यारिफमा थपिनु आवश्यक छ,' उनले ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पको यो अभिव्यक्ति क्यानडाको ओन्टारियो प्रान्तमा लागेका झन्डै २०० ठाउँमा डढेलोका कारण निस्किएको धुवाँ अमेरिकातर्फ फैलिएपछि आएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ।
धुवाँका कारण न्यूयोर्क, डेट्रोइट र वासिङ्टन डीसीलगायत धेरै अमेरिकी सहरमा पछिल्ला केही दिनदेखि वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ।
उता ओन्टारियोमा डढेलोका कारण लाखौं मानिस प्रभावित भएका छन् भने विभिन्न समुदायबाट सयौं व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ।
ट्रम्पको भनाइसँगै रिपब्लिकन पार्टीका केही सांसदले पनि क्यानडाले वन व्यवस्थापन प्रभावकारी रूपमा नगरेकाले हरेक वर्ष अमेरिकी नागरिकले यसको मूल्य चुकाउनुपरेको आरोप लगाएका छन्।
मिशिगन राज्यका चार रिपब्लिकन सांसदले प्रधानमन्त्री कार्नीलाई पत्र लेख्दै अमेरिकीहरूको फोक्सोले बर्सेनि क्यानडाको निष्क्रियताको मूल्य चुकाइरहेको भनेर गुनासो गरेका छन्।
उनीहरूले क्यानडाले वन व्यवस्थापन सुधार्ने पुरानो प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै आवश्यक परे अमेरिकी निकायले सीमापार डढेलो नियन्त्रणमा प्रत्यक्ष भूमिका खेल्न सक्ने पनि बताएका छन्।
यता क्यानडाले भने यी आरोप अस्वीकार गरेको छ।
क्यानडाकी आपतकालीन व्यवस्थापन मन्त्री एलेनोर ओल्सजेउस्कीले डढेलोको मुख्य कारण जलवायु परिवर्तन भएको बताएकी छन्।
उनले यस वर्ष उत्तरी ओन्टारियो र क्युबेकमा सामान्यभन्दा ४० प्रतिशतभन्दा कम वर्षा भएको र तापक्रम ऐतिहासिक औसतभन्दा माथि पुगेकाले डढेलो तीव्र बनेको उल्लेख गरिन्।
उनका अनुसार क्यानडाले सन् २०२० यता वन दिगोपना र डढेलो रोकथामका लागि १२ अर्ब क्यानडेली डलर खर्च गरिसकेको छ।
प्रधानमन्त्री मार्क कार्नीले पनि अमेरिकी आरोपको प्रत्यक्ष जबाफ भने दिएनन् बरू जलवायु परिवर्तनविरुद्ध सबै देशले जिम्मेवारी लिनुपर्ने बताएका छन्।
'जलवायु परिवर्तनसँग जुध्ने जिम्मेवारी सबै देशको हो, संयुक्त राज्य अमेरिकाको पनि,' उनले भने ।
ओन्टारियोका प्रिमियर डग फोर्डले भने अमेरिकी नेताहरूको आलोचनाप्रति असन्तुष्टि जनाएका छन्।
उनले क्यालिफोर्नियामा डढेलो लाग्दा क्यानडाले पानी बोक्ने विमान पठाएर सहयोग गरेको स्मरण गराउँदै अहिले आलोचना गर्नुको सट्टा सहयोग गर्नुपर्ने बताएका छन्।
'गुनासो गर्नुको सट्टा सहयोग पठाउनुहोस्। हामीले अमेरिकी साथीहरूका लागि पनि त्यही गरेका थियौं। संकटका बेला त्यसै गर्नुपर्छ,' उनले भनेका छन्।
द न्यूयोर्क टाइम्सका अनुसार क्यानडामा अधिकांश वन क्षेत्र प्रान्तीय सरकारको मातहतमा रहने भएकाले वन व्यवस्थापन र डढेलो नियन्त्रणको मुख्य जिम्मेवारी पनि सम्बन्धित प्रान्तकै हुन्छ।
यसैबीच, डढेलोको धुवाँ र त्यसको सीमापार प्रभावलाई लिएर अमेरिका–क्यानडा सम्बन्धमा नयाँ तनाव देखिएको छ।
ट्रम्पले क्यानडामाथि ट्यारिफ लगाउने चेतावनी दिए पनि त्यसबारे कुनै ठोस नीति वा कार्ययोजना भने सार्वजनिक गरेका छैनन्।