न्यूयोर्कका मेयर जोहरन ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाका लागि न्यूयोर्क आउन लागेका इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्राउ गर्ने वा नगर्ने भन्नेबारे विचार गरिरहेको बताएका छन्।
न्यूयोर्क टाइम्सको पोडकास्ट 'द इन्टरभ्यु' मा बोल्दै नेतन्याहुलाई हिरासतमा लिन न्यूयोर्क प्रहरीलाई आदेश दिनु कानुनी हुन्छ कि हुँदैन भनेर बुझ्न अझै पनि आफ्ना कर्मचारीहरूसँग काम गरिरहेको उनले बताए।
आफूले कानुनकै पालना गर्ने कुरामा उनले जोड दिए।
'यो हाम्रो कानुनी विभागसँग चलिरहेको सक्रिय छलफलको विषय हो। ... राष्ट्रिय स्तरमा हामीले के देखेका छौँ भने, कहिलेकाहीँ आफ्नै कानुन लेख्ने र वैधानिकताको सीमाभन्दा बाहिर जाने चाहना हुन्छ। त्यसमा हाम्रो कुनै चासो छैन,' ममदानीले भने।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को मुख्यालय रहेको सहरतर्फ संकेत गर्दै उनले भने, 'मलाई लाग्छ प्रधानमन्त्री नेतन्याहु द हेगमा हुनुपर्छ।'
नरसंहार, युद्ध अपराध र मानवता विरुद्धको अपराधको अनुसन्धान गर्ने अदालत आईसीसीले गाजामा भएको युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि सन् २०२४ मा नेतन्याहु विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका पूर्ववर्ती जो बाइडेन दुवैले उक्त पुर्जीका लागि आईसीसीको कडा आलोचना गरेका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमासका लडाकुहरूले इसराइलमा आक्रमण गर्दा करिब १२ सय मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।
त्यसपछि इसराइलले सुरु गरेको युद्धमा नेतन्याहुलाई समर्थन गर्ने नै दुवै अमेरिकी सरकारको नीति रहँदै आएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, गत वर्ष युद्धविराम हुनुअघि इसराइलको जवाफी सैन्य कारबाहीमा ७३ हजार २५० प्यालेस्टिनीहरू मारिएका थिए। मन्त्रालयले सर्वसाधारण र लडाकुहरूबीच फरक छुट्याउँदैन, तर हताहत हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इसराइलका राजदूत ड्यानी ड्याननले शनिबार एक्समा लेख्दै ममदानीको टिप्पणीले 'केही पनि फरक नपार्ने' बताएका छन्।
ड्याननले भने, 'नेतन्याहु न्यूयोर्क आउनेछन्, गर्वका साथ संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन्, र इसराइलको सत्य तथा आफ्ना नागरिकहरूको रक्षा गर्ने आफ्नो अटल अधिकारबारे विश्वसामु उभिएर कुरा राख्नेछन्।'
गत जनवरीमा मेयर बनेका ममदानीले आफ्नो चुनावी अभियानका क्रममा निर्वाचित भएमा नेतन्याहुलाई पक्राउ गर्ने वाचा गरेका थिए। सोही वाचा अनुसार नेतन्याहुलाई पक्राउ गर्नेबारे उनले विचार गरिरहेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)