कक्रोच जनता पार्टी (सिजेपी) को संसद मार्च कार्यक्रमबीच प्रतिपक्षी कंग्रेस सांसद रेणुका चौधरीले संसद अधिवेशन चलिरहेका बेला बाहिर सडकमा बालबालिकाहरूमाथि अश्रुग्यास प्रहार गरिएको भन्दै विरोध गरेकी छन्।
हिन्दुस्तान टाइम्सका अनुसार उनले सिजेपीले आह्वान गरेको 'चलो संसद' मार्चबारे टिप्पणी गर्दै सोमबार सुरू भएको मनसुन अधिवेशनमा भनिन्, 'संसदको अधिवेशन चलिरहेको छ र सरकारले बाहिर बालबालिकाहरू (विद्यार्थीहरू) माथि अश्रुग्यास प्रयोग गरिरहेको छ। के सरकार यसरी नै चल्छ? संसद भवनभित्र उनीहरूले हाम्रो ह्वाट्सएप जाम गरिदिए र ढोकाहरू बन्द गरिदिए। यो कस्तो खालको सरकार हो? संसद बालबालिकाको पनि हो। यो संविधानले उनीहरूलाई दिएको अधिकार हो...'
भारतमा संसदको मनसुन अधिवेशन सुरू भएको पहिलो दिन सोमबार सिजेपीले संसदसम्म मार्चपास कार्यक्रम आह्वान गरेको हो।
'संसद जाऔं' (चलो संसद) मार्चको आह्वानबीच सिजेपीका संस्थापक अभिजीत दीपके र हाल अनसनरत सोनाम वाङचुककी पत्नी गीताञ्जली जे आङ्मोले संसदतर्फ मार्च गर्ने प्रयास गरेका थिए। तर प्रहरीले उनीहरूलाई रोकेको थियो। प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गरेको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार, अभिजीत दीपके र गीताञ्जलीको नेतृत्वमा प्रदर्शनकारीहरू संसदतर्फ अघि बढिरहेका थिए। तर बैरिकेड राखेर बसेका प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरे। जब प्रदर्शनकारीहरू जबर्जस्ती अघि बढ्न खोजे, प्रहरीले अश्रुग्यासका गोला प्रहार गरे। यसले प्रदर्शनकारीहरूबीच भागदौड मच्चिएको थियो।
जन्तर-मन्तर क्षेत्रमा करिब सात फिट अग्ला बैरिकेडहरू लगाएर ४ तहको सुरक्षा घेरा तयार पारिएको छ।
सुरूमा यो आन्दोलनबाट दूरी बनाएका केही विपक्षी नेताहरू अहिले व्यक्तिगत रूपमा यसमा जोडिन थालेका छन्।
दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसौदिया आइतबार धर्ना स्थल पुगेका थिए। उनले लेखेका छन्, 'सोमबार शिक्षा क्रान्तिको समर्थनमा हुने प्रोटेस्ट मार्चका लागि म पनि जन्तर-मन्तर पुग्नेछु। यो मार्च कुनै एक व्यक्ति वा संगठनको समर्थनमा होइन, देशका बालबालिकाको भविष्यका लागि हो।'
समाजवादी पार्टीका सांसदहरू प्रिया सरोज, राजीव राय र इकराम हसन पनि जन्तर-मन्तर पुगेका थिए। उनीहरूले आफ्नो पार्टी सिजेपीको यो आन्दोलनको साथमा रहेको बताएका छन्।
कांग्रेस प्रवक्ता एवं राज्य सभा सांसद पवन खेडाले पनि जन्तर-मन्तर पुगेर सोनाम वाङचुक र आन्दोलनकारीहरूसँग भेट गरी बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राखेर अनसन तोड्न आग्रह गरेका थिए। यद्यपि, कांग्रेसका कुनै शीर्ष नेता मार्चमा सहभागी हुनेबारे आधिकारिक घोषणा भएको छैन।
यसबीच सिजेपीको मार्चपास नजिकिएपछि संसद भवन अगाडि सुरक्षा बढाइएको छ भने संसद बैठक आजलाई स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि संसद भवन छाडिसकेका छन्।
उता सरकारको आग्रहपछि केन्द्रीय मन्त्री जेपी नड्डालाई उनको निवासमा भेटेर १० मिनेट कुराकानी गरेको बताएको छ।
मनसुन अधिवेशनको पहिलो दिन सोमबार सिजेपीले आयोजना गरेको 'चलो संसद' मार्चपास कार्यक्रमबीच केन्द्रीय मन्त्री नड्डासँग भेटेको सिजेपी प्रवक्ता आशुतोष रांकाले जानकारी दिए।
उनका अनुसार मन्त्री नड्डासमक्ष सिजेपीले तीनवटा प्रमुख माग राखेको छ —
पहिलो, सोनाम वाङचुकको तत्काल रिहाइ।
दोस्रो, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा।
तेस्रो, 'नीट' (राष्ट्रिय योग्यता परीक्षा) परीक्षा विवादका कारण आत्महत्या गरेका प्रत्येक परीक्षार्थीका परिवारलाई १ करोड रूपैयाँ क्षतिपूर्ति।
प्रहरीका अनुसार मार्चका लागि करिब ८ हजार प्रदर्शनकारीहरू जम्मा भएका थिए।
संसदको मनसुन अधिवेशनको पहिलो दिन आयोजित यो विरोध मार्चलाई दिल्ली प्रहरीले अनुमति दिएको छैन र नयाँ दिल्लीका अधिकांश क्षेत्रमा निषेधाज्ञा (धारा १६३) लागू गरिएको छ।
सिजेपीले नीट प्रश्नपत्र लीक लगायतका मुद्दाहरूमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै एक महिनाभन्दा बढी समयदेखि यहाँ प्रदर्शन गरिरहेको छ।
सोनाम वाङचुकले अनसन तोड्न राखे ३ सर्त
भारतको राजधानी दिल्लीको जन्तर-मन्तरमा आमरण अनसन बसिरहेका सामाजिक अभियानी सोनाम वाङचुक अस्पताल भर्ना भएका छन्।
प्रहरीले दिल्ली उच्च अदालतको निर्देशनको हवाला दिँदै जुलाई १८ मा उनलाई जबर्दस्ती सफदरजंग अस्पताल लगेको थियो।
अस्पतालमा उनले ड्रिप (सलाइन) वा मुखबाट कुनै पनि तरल पदार्थ लिन अस्वीकार गरेका छन् र आफ्नो अनसन जारी रहने बताएका छन्। सोमबार भने उनले सामाजिक सञ्जाल 'एक्स' (ट्वीटर) मा पोस्ट गर्दै आफ्नो अनसन समाप्त गर्न तीनवटा सर्त राखेका छन्।
बिबिसी हिन्दीका अनुसार सोनाम वाङचुकले राखेका सर्तमा भनिएको छ —
प्रश्नपत्र सार्वजनिक भएका घटना लगायत शिक्षा व्यवस्थाको 'हालैका असफलता' को जिम्मेवारी सरकारले लेओस्,
राजनीतिक दलहरूले संसदमा यो मुद्दा उठाउने विश्वास दिलाऊन्,
र, विभिन्न दलका सांसद र नेताहरू अस्पताल आएर उनलाई भेटेर यसबारे आश्वासन दिऊन्।
