भारतको राजधानीमा दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) ले आह्वान गरेको 'संसद मार्च' का सहभागीहरूले भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलन सम्झेका छन्।
संसद मार्चमा भएको प्रहरी धरपकडपछि आक्रोशित प्रदर्शनकारीहरूले नेपालमा जस्तै संसद भवन तहसनहस पार्ने चुनौती दिएका छन्।
'नीट' (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरणलाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रदर्शनमा ओर्लिएका एक प्रदर्शनकारीले भने, 'राजीनामा आएन भने संसद भवन उखाड्दिन्छौं (उखेलेर फाल्छौं)। नेपाल बनाइदिन्छौं नेपाल।'
प्रदर्शनकारीले नेपालको जेनजी आन्दोलन सम्झिँदै दिएको यस्तो अभिव्यक्तिको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।
भारतमा सत्तासँगको असन्तुष्टिका कारण जन्मेको कक्रोच जनता पार्टीले आयोजना गरेका विरोध कार्यक्रमलाई सुरूदेखि जेनजी आन्दोलनसँग जोडेर हेरिएको छ। जेनजी आन्दोलनमा जस्तै कक्रोच पार्टीले आयोजना गर्ने विरोध कार्यक्रमहरूमा पनि विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहने गरेको छ।
सोमबार दिल्लीमा आयोजित संसद मार्चमा ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा ओर्लिएका थिए। तिनमा बहुसंख्यक विद्यार्थी थिए।
प्रहरीको कडा सुरक्षा घेराबन्दीका कारण प्रदर्शनकारीहरू संसद भवनसम्म पुग्न नसके पनि प्रदर्शनको रापले अहिले सम्पूर्ण मध्य दिल्ली क्षेत्र ठप्प बनेको छ।
प्रदर्शन स्थल जन्तर-मन्तरमा स्थिति तनावग्रस्त बनेपछि भिड तितरबितर पार्न प्रहरीले लाठीचार्ज र बल प्रयोग गरेको छ। आइतबारदेखि नै भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको त्यस क्षेत्रमा सोमबार बिहानै दंगा नियन्त्रण वाहन परिचालन गरिएको थियो।
प्रहरीले जन्तर-मन्तरबाट हटाउन खोजे पनि प्रदर्शनकारीहरू मध्य दिल्लीका अन्य भागमा तितरबितर भएर प्रदर्शन जारी राखेका छन्।
सिजेपीले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै एक महिनाभन्दा बढी समयदेखि निरन्तर आन्दोलन गरिरहेको छ।
यसैबीच २० दिनभन्दा बढी समयदेखि अनिश्चितकालीन भोक हड्तालमा रहेका र प्रहरीद्वारा सफदरजंग अस्पतालमा राखिएका सामाजिक अभियानी सोनाम वाङचुकले आफ्नो अनसन तोड्न सरकारसमक्ष केही सर्त अघि सारेका छन्।
उता प्रदर्शन चर्कँदै गएपछि सरकारका तर्फबाट वार्ताको पहल गरिएको छ। सिजेपीका प्रवक्ताहरूले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डालाई उनको निवासमा भेटेर १० मिनेट कुराकानी गरेका छन्।
भेटपछि सिजेपीका प्रवक्ता आशुतोष रांकाले मन्त्रीसमक्ष आफ्ना तीनवटा मुख्य सर्त प्रस्तुत गरिएको जानकारी दिए।
ती सर्तहरूमा सामाजिक अभियानी सोनाम वाङचुकको तत्काल रिहाइ, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र 'नीट' परीक्षा विवाद र तनावका कारण आत्महत्या गरेका प्रत्येक परीक्षार्थीका परिवारलाई १ करोड क्षतिपूर्ति दिनुपर्ने रहेका छन्।