तीन दिनदेखि दिल्लीको सफदरजंग अस्पतालमा भर्ना रहेका सामाजिक अभियानी सोनाम वाङचुकले आफ्नो अनसन जारी राख्ने बताएका छन्।
उनले सोमबार प्रहरीले 'अहिंसक प्रदर्शनकारीहरूमाथि गरेको क्रूर व्यवहार' पछि यो निर्णय लिएको बताएका छन्।
वाङचुकको यो सन्देश उनको आधिकारिक 'एक्स' (ट्वीटर) मा कागजमा हातले लेखिएको सन्देशका रूपमा पोस्ट गरिएको छ।
उक्त सन्देशमा उनले भनेका छन्, 'सरकारले मंगलबार वा बुधबार युवा नेताहरूलाई आफ्ना कुरा सांसदहरूसामु राख्न संसद जान अनुमति देओस्, वा उनीहरूका युवा नेताहरू उनलाई भेट्न अस्पताल आउन सकून्; तब मात्र उनले आफ्नो अनसन तोड्नेछन्।'

आफ्नो सन्देशमा उनले सोमबार संसद मार्चका क्रममा जम्मा भएका समर्थकहरूको अहिंसक भिडलाई धन्यवाद दिएका छन् र अगाडि पनि यसरी नै समर्थनको अपेक्षा व्यक्त गरेका छन्।
यसअघि भारतको राजधानी दिल्लीको जन्तर-मन्तरमा आमरण अनसन बसिरहेका वाङचुकलाई प्रहरीले दिल्ली उच्च अदालतको निर्देशनको हवाला दिँदै जुलाई १८ मा जबर्दस्ती सफदरजंग अस्पताल लगेको थियो।
सोमबारै बिहान उनले सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गर्दै आफ्नो अनसन समाप्त गर्न तीनवटा सर्त राखेका थिए।
बिबिसी हिन्दीका अनुसार सोनाम वाङचुकले राखेका सर्तमा भनिएको थियो — प्रश्नपत्र सार्वजनिक भएका घटना लगायत शिक्षा व्यवस्थाको 'हालैका असफलता' को जिम्मेवारी सरकारले लेओस्, राजनीतिक दलहरूले संसदमा यो मुद्दा उठाउने विश्वास दिलाऊन्, र, विभिन्न दलका सांसद र नेताहरू अस्पताल आएर उनलाई भेटेर यसबारे आश्वासन दिऊन्।
