बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले आफ्नो पदबाट राजीनामा दिने भएका छन्।
अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले निर्वासनबाट स्वदेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरेको केही दिनपछि राष्ट्रपति शाहाबुद्दिनले पद छाड्ने निर्णय गरेका हुन्।
उनले शुक्रबार नै राजीनामा दिने तयारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
राष्ट्रपति शाहाबुद्दिनका प्रेस सचिव सरवार आलमले रोयटर्ससँग कुरा गर्दै संविधानअनुसार सभामुखलाई हस्ताक्षरित राजीनामापत्र बुझाएपछि राजीनामा प्रभावकारी हुने बताए।
उनले सभामुख थाइल्यान्डबाट शुक्रबार फर्किने र त्यसपछि राष्ट्रपति शाहाबुद्दिनले औपचारिक रूपमा राजीनामा बुझाउने जानकारी दिए।
संविधानअनुसार राष्ट्रपति पद रिक्त भएपछि नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म सभामुख हाफिज उद्दिन अहमद कार्यवाहक राष्ट्रपति बन्नेछन्।
राष्ट्रपति शाहाबुद्दिनले राजीनामा दिनुको कारण आधिकारिक रूपमा खुलाइएको छैन।
तर विषयमा जानकार तीन स्रोतलाई उद्धृत गर्दै रोयटर्सले हसिनाले स्वदेश फर्किने योजना सार्वजनिक गरेपछि सरकारकै दबाबमा उनले पद छाड्न लागेको जनाएको छ।
शाहाबुद्दिनलाई हसिनाका लामो समयदेखिका निकट सहयोगी मानिन्छ।
गत साता रोयटर्ससँगको अन्तर्वार्तामा शेख हसिनाले आगामी डिसेम्बरतिर निर्वासनबाट बंगलादेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने योजना रहेको बताएकी थिइन्।
उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन्।
गत नोभेम्बरमा बंगलादेशको युद्ध अपराध अदालतले २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनमाथि दमन गर्न आदेश दिएको अभियोगमा हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।
संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनको दमनका क्रममा करिब १ हजार ४ सय जनाको मृत्यु भएको थियो।
सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले हसिनाको सरकार ढालेपछि उनी भारतको शरणमा पुगेकी थिइन्।
त्यसयता उनको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएको छ भने पार्टीका धेरै नेता तथा कार्यकर्ता जेल परेका वा लुकेर बसेकी छन्।
हसिनाको सम्भावित पुनरागमनले सरकारका लागि नयाँ राजनीतिक चुनौती सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।
७६ वर्षीय शाहाबुद्दिन सन् २०२३ मा हसिनाको अवामी लिगको तर्फबाट निर्विरोध पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए।
यद्यपि, उनको पद मुख्यतः औपचारिक भए पनि २०२४ मा हसिना देश छाडेपछि उत्पन्न राजनीतिक रिक्तताका कारण राष्ट्रपति पदको महत्व बढेको थियो।
रोयटर्सका अनुसार शाहाबुद्दिनले गत मंगलबार नै प्रधानमन्त्री रहमानलाई आफ्नो राजीनामाको निर्णयबारे जानकारी गराइसकेका थिए।
यसअघि गत डिसेम्बरमा उनले फेब्रुअरीको निर्वाचनपछि पदबाट हट्ने योजना रहेको बताएका थिए।