भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)ले आफ्ना विद्यार्थी तथा शैक्षिक समुदायका सदस्यहरूलाई नयाँ दिल्लीको जन्तर मन्तर वा त्यस आसपास हुने प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको छ।
विश्वविद्यालयले निर्देशन उल्लंघन गरे प्रचलित कानुनअनुसार कारबाहीसँगै विश्वविद्यालयको आचारसंहिताअनुसार अनुशासनात्मक कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको हो।
सामाजिक सञ्जाल एक्समा जारी सूचनामा जेएनयूले विद्यार्थीलाई जिम्मेवार व्यवहार गर्न र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।
भारतको सर्वोच्च अदालतले सार्वजनिक प्रदर्शनसम्बन्धी दिएको निर्देशनलाई उल्लेख गर्दै विश्वविद्यालयले जन्तर मन्तर वा त्यस आसपास हुने कुनै पनि सभामा सहभागी नहुन वा त्यहाँ नजान अनुरोध गरेको छ।
विश्वविद्यालयले सामाजिक सञ्जालको प्रयोग पनि जिम्मेवारीपूर्वक गर्न आग्रह गर्दै नियम उल्लंघन गर्नेहरूलाई कानुनी कारबाहीका साथै विश्वविद्यालयको आचारसंहिताअनुसार अनुशासनात्मक कारबाही गरिने जनाएको छ।
साथै, विद्यार्थीहरूले शैक्षिक जिम्मेवारी र जिम्मेवार नागरिकको दायित्वसमेत पालना गर्नुपर्ने अपेक्षा राखिएको विश्वविद्यालयले जनाएको छ।
यसअघि दिल्ली विश्वविद्यालयले पनि विद्यार्थीलाई जन्तर मन्तरमा हुने प्रदर्शनबाट टाढा रहन निर्देशन दिएको थियो।
दिल्ली विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ, 'तपाईंहरूको सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो। भारतको सर्वोच्च अदालतको निर्देशनअनुसार जन्तर मन्तरमा हुने कुनै पनि गैरकानुनी सभा वा प्रदर्शनमा सहभागी भए कानुनी कारबाही हुन सक्छ।
सूचनामा यस्ता गतिविधिमा सहभागी हुँदा विद्यार्थीको व्यक्तिगत सुरक्षामा गम्भीर जोखिम पर्न सक्ने, पढाइमा असर पुग्ने र भविष्यको व्यावसायिक अवसरसमेत प्रभावित हुन सक्ने उल्लेख गर्दै सबै विद्यार्थीलाई जन्तर मन्तरबाट टाढा रहन, सुरक्षालाई प्राथमिकता दिन र कानुनको पालना गर्न आग्रह गरिएको छ।
त्यसपछि लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले विश्वविद्यालयहरूले विद्यार्थीलाई धम्की दिन नसक्ने बताएका छन्।
'विद्यार्थीहरूलाई उनीहरूको लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा धम्की दिने हिम्मत कसरी गर्नुभयो? सम्झनुहोस्, समयमै तपाईं जवाफदेही हुनुहुनेछ,' उनले भनेका छन्।
नीट–यूजी परीक्षाको प्रश्नपत्र चुहिएको घटनापछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विद्यार्थीहरूले जन्तर मन्तरमा निरन्तर प्रदर्शन गरिरहेका छन्।