अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी खतराका कारण अर्कै प्लेन चढेको खुलेको छ।
दुई साताअघि टर्की पुगेका ट्रम्प त्यहाँबाट फर्कँदा उनीमाथि इरानबाट सुरक्षा खतरा रहेको खुफिया सूचनापछि ट्रम्पले आफू चढ्ने विमान नै परिवर्तन गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।
ट्रम्प टर्की पुग्दा कतारले अमेरिकालाई दिएको नयाँ बोइङ ७४७-८ विमान प्रयोग गरेका थिए। फर्कने बेला उनी सवार विमानलाई इरानले निशाना बनाउने सूचना अमेरिकी सुरक्षा निकायले पाएका थिए।
त्यसपछि ट्रम्प आफैले पुरानै एयरफोर्स वानबाट स्वदेश फर्कने घोषणा गरेका थिए।
ट्रम्प सवारी विमानलाई इरानले निशाना बनाउने तयारी गरेको सूचना सुरूमा इसराइली गुप्तचरले दिएको थियो। तर अमेरिकी अधिकारीहरुले भने
त्यतिबेला केही अमेरिकी अधिकारीहरूले इसराइलले दिएको सूचनाप्रति शंका गरेका थिए। अमेरिकाले इरानमाथिको आक्रमण तीब्र बनाउँछ भनेर इसराइलले त्यस्तो सूचना दिएको हुन सक्ने अमेरिकीहरूको बुझाइ थियो।
किनभने ट्रम्प आफै त्यतिबेला आक्रमणभन्दा वार्ताबाट समस्या समाधान गर्ने पक्षमा थिए भने इसराइल जुनसुकै हालतमा इरानका हतियार कार्यक्रम र परमाणु संरचना ध्वस्त पार्नुपर्ने पक्षमा थियो। उसले बारम्बार त्यसका लागि ट्रम्पलाई दबाब पनि दिइरहेको थियो।
अमेरिकी अधिकारीहरूले नै त्यो सूचना पुष्टि गरेपछि ट्रम्पले विमान परिवर्तन गर्ने निर्णय गरेका थिए। कतारी विमानलाई मात्रै नभई इरानले ट्रम्प सवार जुनसुकै जहाज भए पनि त्यसलाई निशाना बनाउने तयारी गरेको सूचना अमेरिकी अधिकारीहरूले पाएका थिए।
कतारले दिएको नयाँ विमानमा पुरानो एयर फोर्स वनजस्तो उन्नत मिसाइल प्रतिरक्षा प्रणालीलगायत सुरक्षा प्रणाली नभएको समाचार न्युयोर्क टाइम्सले यसअघि नै प्रकाशित गरेको थियो। त्यसकारण ट्रम्पले पुरानै जहाज प्रयोग गर्ने निर्णय गरेका हुन्।
ट्रम्प आफैले भने सुरक्षा खतराका कारण विमान परिवर्तन गरेको स्वीकारेका छैनन्।
उनले बेलायतमा रहेका अमेरिकी सैनिकहरूलाई नयाँ विमान अवलोकन गर्ने अवसर दिन विमान फेरेको बताएका थिए।
यद्यपि आफू इरानी निशानामा रहेको भने उनले स्वीकार गरेका थिए।
‘उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन्, अर्थात् मलाई। म उनीहरूको हरेक सूचीमा छु। आज बिहान पनि मैले त्यही देखेँ। अहिलेसम्म म केही भाग्यमानी भएको हुन सक्छु, तर त्यो धेरै समयसम्म नहुन पनि सक्छ,’ उनले एयरफोर्स वानबाट ओर्लेर पत्रकारहरूसँग भनेका थिए।
इरानसँग निकट सम्बन्ध भएका सशस्त्र समूहहरूले सन् २०२० मा अमेरिकी हमलामा इरानी शीर्ष सैन्य कमान्डर कासिम सुलेमानी मारिएयता ट्रम्पलाई निशाना बनाउने धम्की दिँदै आएका छन्।
ट्रम्पले लामो समयदेखि सन् १९९० देखि प्रयोग हुँदै आएका एयर फोर्स वनका दुई विमान पुराना र पर्याप्त प्रभावशाली नरहेको गुनासो गर्दै आएका थिए।
त्यसपछि कतारले अमेरिकालाई बोइङ ७४७–८ विमान उपलब्ध गराएको थियो। ट्रम्पले कार्यकाल सकिएपछि उक्त विमान आफ्नो राष्ट्रपतीय पुस्तकालयमा राख्ने योजना रहेको पनि बताइसकेका छन्।
अमेरिकी अधिकारीहरूले नयाँ विमानलाई स्थायी समाधान नभई नयाँ आधिकारिक एयर फोर्स वन तयार नहुँदासम्मको 'अन्तरिम व्यवस्था' मात्र बताएका छन्।
ह्वाइट हाउसका अनुसार नयाँ विमानलाई थप सुरक्षा प्रणाली जडान गर्न यस वर्षको शरद ऋतुमा करिब एक महिनाका लागि सेवाबाट हटाइनेछ। त्यस अवधिमा ट्रम्पले फेरि पुरानै एयर फोर्स वन प्रयोग गर्नेछन्।
यसैबीच अमेरिकी सिक्रेट सर्भिसका निर्देशक सन करनले राष्ट्रपति लगायत आफूहरूले सुरक्षा दिइरहेका व्यक्तिमाथिको खतरा आफ्नो २४ वर्षे सेवाकालकै सबैभन्दा उच्च स्तरमा पुगेको बताएका छन्।
‘मैले २४ वर्षको सेवामा यस्तो अवस्था कहिल्यै देखेको थिइनँ। खतरा अभूतपूर्व रूपमा बढेको छ। राष्ट्रपतिलाई मात्र होइन, स्थानीय अधिकारीहरूमाथि पनि जोखिम निकै उच्च छ,’ उनले भनेका छन्।