भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले जन्तर मन्तर र देशभरि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आफूले राजीनामा दिएको बताएका छन्।
मन्त्री प्रधानले सामाजिक सञ्जाल प्ल्याटफर्म एक्सबाट राजीनामा पत्र सार्वजनिक गरेका छन्।
उनले जन्तर मन्तर र देशभरि उत्पन्न परिस्थितीमा देशविरोधी शक्तिहरूले अनुचित फाइदा उठाउन नपाओस् भनेर आफूले राजीनामा दिएको पनि पत्रमा उल्लेख गरेका छन्।
'देशविरोधी शक्तिहरूले यसको अनुचित फाइदा उठाउन नपाऊन्, देशको एकता कायम रहोस्, एउटै विद्यार्थीको भविष्य पनि कानुनी उल्झनमा नफसोस् र हाम्रा बालबालिकाहरू निर्धक्क भएर आफ्नो पढाइ र करियर बनाउनेतर्फ ध्यान दिन सकून् भनेर मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको छु,' उनले राजीनामा पत्रमा भनेका छन्।
मन्त्री प्रधानले देशका युवाहरूलाई कुनै पनि भ्रम र गलत सूचनाको चक्रव्यूहमा पस्न नदिने आफ्नो संकल्प रहेको बताएका छन्।
उनले चार दशकभन्दा बढी समयदेखि आफू विद्यार्थी, शिक्षक र शिक्षा सुधारको अभियानीका रूपमा निरन्तर लागिपरेको पनि बताएका छन्।
'एउटा बलियो, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै बलियो राष्ट्रको जग हो भन्नेमा म सधैँ विश्वास गर्छु,' उनले भनेका छन्।
देशका युवाहरूको चाहना, भावना र उनीहरूको जायज अपेक्षालाई आफूले सधैँ गहिरो सम्मान गरेको पनि मन्त्री प्रधानले बताएका छन्।
'भारतको नयाँ पुस्ताको सपना पूरा गर्नु हाम्रो राजनीतिक र सामाजिक जीवनको नैतिक प्रतिबद्धता हो। सम्माननीय प्रधानमन्त्रीज्यूको दूरदर्शी नेतृत्वमा देशको सेवा गर्ने अवसर पाउँदा म उहाँप्रति आभार व्यक्त गर्दछु,' राजीनामा पत्रमा उनले भनेका छन्।
नीटको प्रश्न पत्र लिक भएको विषयमा अनियमितता देखिएपछि सरकारले तत्कालै एक्सन लिएको उनको भनाइ छ।
घटनाको अनुसन्धानका लागि सिबिआईलाई जिम्मेवारी दिँदै परीक्षा रद्द गरेपछि तत्कालै पुनः परीक्षा गरी नतिजा समेत सार्वजनिक भइसकेको उनले बताएका छन्।
साथै, आगामी वर्षदेखि यो परीक्षा कम्प्युटरमा आधारित मोडलमा सञ्चालन गर्ने निर्णय पनि गरिएको उनले बताएका छन्।
'यस बीचमा २० लाखभन्दा बढी विद्यार्थीको परीक्षा सहज रूपमा गराउनु नै हाम्रो पहिलो प्राथमिकता थियो। हामीले सरकारका सबै निकायलाई जोडेर काम गर्यौँ। भारत सरकारका साथसाथै राज्य सरकारहरू, खास गरी जिल्ला प्रशासनहरूले महत्त्वपूर्ण भूमिका खेले। विद्यार्थी, आमाबुबा र अभिभावकहरूको सहयोगले नै २०२६ जुन २१ मा पुनः परीक्षा सफलतापूर्वक सम्पन्न भयो,' उनले भनेका छन्।
परिस्थिति बिग्रिएपछि सुरूवातदेखि नै आफूले जिम्मेवारी लिएको पनि उनले बताएका छन्।
'परीक्षा माफियाका कारण कुनै पनि प्रतिभाशाली विद्यार्थीको भविष्य बर्बाद नहोस् र कसैमाथि अन्याय नहोस् भन्ने मेरो दृढ संकल्प थियो,' उनले भनेका छन्।
पुनः परीक्षा सम्पन्न भई नतिजा पनि सार्वजनिक भइसकेको अवस्थामा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले नै विद्यार्थीहरूलाई भ्रममा पारेर अड्चन खडा गर्ने प्रयास गरेको उनले बताएका छन्।
'जसले मलाई दुःखी बनायो। हाम्रो लोकतन्त्रको शक्तिमा मेरो सधैँ अटल विश्वास छ र युवाहरूका सपना अनि अपेक्षाहरूलाई मैले सधैँ सम्मान गरेको छु। उनीहरू भारतको भविष्य मात्र होइनन्, नयाँ र विकसित भारतका निर्माणकर्ता र मार्गदर्शन पनि हुन्,' उनले भनेका छन्, 'पछिल्ला १० दिनका घटनाक्रमले मलाई धेरै दुःखी बनाएको छ। यो मेरो व्यक्तिगत प्रतिष्ठाको विषय होइन।'
प्रधानले राजीनामा दिँदै राष्ट्रको सेवामा आफू सधैँ समर्पित हुने पनि बताएका छन्।