भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सिजेपी) का संस्थापक अभिजित दिप्केले यसलाई आन्दोलनको ठूलो जित भएको बताएका छन्।
शिक्षामन्त्री दिप्केको राजीनामापछि जन्तर मन्तरमा समर्थकहरूलाई सम्बोधन गर्दै दिप्केले कक्रोचले 'गरेरे देखाएको' बताएका हुन्।
'उनीहरू के भन्थे? यो सरकारमा राजीनामा हुँदैन भन्थे। धर्मेन्द्र प्रधानले राजीनामा गरिसकेका छन्। हामीले गरेर देखायौं,' दिप्केले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै भने।
उनले शिक्षामन्त्रीको राजीनामाले युवा निडर भएको खण्डमा कसैले पनि राजीनामा दिन बाध्य हुने सन्देश दिएको बताए।
'यदी तपाईं डराउनुहुन्न भने, तपाईं सरकारअघि झुक्नु हुन्न भने जोसुकैको राजीनामा दिन बाध्य पार्न सक्नुहुन्छ,' उनले भने, 'लोकतन्त्रमा डराउन जरूरी छैन।'
प्रधानले शनिबार नै शिक्षा मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका थिए।
जन्तर मन्तरमा गएको सोमबारदेखि जारी प्रदर्शन चर्किँदै गएपछि प्रधानले राजीनामा दिएका हुन्।
उनले राष्ट्रिय एकता जोगाइराख्न र पछिल्लो परिस्थितको फाइदा देशविरोधीले उठाउन नपाओस् भनेर आफूले राजीनामा दिएको बताएका छन्।
उनको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीहरूले उत्सव मनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।