नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालन सम्बन्धी ३ बुँदे सहमति बनेपछि कोशी प्रदेशमा मुख्यमन्त्री बन्न एमालेभित्र होड सुरू भएको छ।
केन्द्रमा भएको सहमति अनुसार कोशी प्रदेशको कमान्ड पुनः एमालेकै भागमा परेको छ। तर, एमालेभित्र भने नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा आन्तरिक होडबाजी सुरू भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई विस्थापित गरी ताप्लेजुङका नेता एवं संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा छन्।
अर्कातर्फ पार्टी महासचिव शंकर पोखरेल भने कार्कीलाई नै दोहोर्याउनुपर्ने अडानमा छन्।
एमाले कोशीका एक नेताका अनुसार, यसअघि जस्तो अध्यक्ष ओलीले एकल निर्णय लाद्ने सम्भावना यसपटक कम छ। पार्टी कमिटीको निर्णयका आधारमा नेतृत्व चयन हुने र यी दुई नाममा धेरै तानातान भए तेस्रो व्यक्तिले पनि अवसर पाउन सक्ने उनको भनाइ छ। यद्यपि, अर्का नेता भने कार्की वा मेन्याङ्बोमध्ये एक जना नै मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै रहेको बताउँछन्।
शनिबार एमाले अध्यक्ष ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै प्रदेशहरूमा मुख्यमन्त्रीको समीकरण स्पष्ट भएको थियो।
सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व लिने र नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउनेछ। मधेस र गण्डकीमा प्रदेश सभामा रहेका अन्य दलहरूसँग छलफल गरी नेतृत्व र सहभागिताको स्वरूप तोकिने सहमतिमा उल्लेख छ।
केन्द्रमा सम्झौता हुनुअघिसम्म नेकपाले कोशी प्रदेशको नेतृत्वमा दाबी गर्दै आएको थियो।
नेकपा नेता इन्द्र आङ्बोले एमालेलाई पटक-पटक सघाएकाले यसपटक आफ्नै दलले नेतृत्व पाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।
तर, शीर्ष नेताहरूको सहमतिले कोशी एमालेलाई नै सुम्पिएपछि नेकपा कोशीका नेताहरूले सामाजिक सञ्जालमार्फत तीव्र असन्तोष व्यक्त गरेका छन्। नेकपा नेताहरू गणेश उप्रेती र कुलप्रसाद साम्बा लगायतका नेताहरूले प्रचण्डको यो निर्णयप्रति खुला असहमति जनाएका छन्।
अब कोशीमा एमालेभित्रबाट कार्कीको निरन्तरता वा मेन्याङ्बोको ताजपोसी भन्ने होड सुरू भएको हो।
हालका मुख्यमन्त्री कार्कीका लागि सबभन्दा ठूलो चुनौती अध्यक्ष ओलीसँगको बिग्रिँदो सम्बन्ध बनेको छ।
झापाको एउटै निर्वाचन क्षेत्रका यी दुई नेताबीच विगतमा निकै प्रगाढ सम्बन्ध थियो। ओली सत्ता बाहिर रहँदा पनि कार्कीले निरन्तर साथ दिएकै कारण उनले स्थायी कमिटी सदस्य, सचिव र तीन पटकसम्म कोशीको मुख्यमन्त्री बन्ने अवसर पाएका थिए।
फागुन २१ को निर्वाचनपछि एमालेभित्र सुरू भएको पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसमा कार्कीले महासचिव शंकर पोखरेलको कित्तालाई समर्थन गरेपछि ओलीसँगको दूरी बढेको हो।
विद्यार्थी राजनीतिदेखि नै महासचिव पोखरेलसँग निकट रहेका कार्कीले अध्यक्षको सट्टा महासचिवको एजेन्डा बोकेपछि ओली क्रुद्ध बनेका हुन्। महाधिवेशनपछि कार्की स्वयं कोशी प्रदेश इञ्चार्ज र उनका दाजु दीपक कार्की झापा जिल्ला इञ्चार्ज बन्न चाहन्थे। तर ओलीले प्रदेशमा शेरधन राई र झापामा रोमनाथ ओलीलाई जिम्मेवारी दिएपछि कार्की दाजुभाइ रूष्ट बनेका थिए।
लामो समय आफ्नै विश्वास पात्र रहेका कार्कीले विगतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग निकटता देखाउँदा पनि ओली बिच्केका थिए।
ओलीसँगको बिग्रिँदो सम्बन्धका कारण राजकीय पद गुम्ने खतरा बढेपछि कार्की निकट सांसदहरू चिन्तित छन्। कार्की स्वयंले यो कुरा अस्वीकार गरे पनि घटनाक्रमले दूरी बढेको पुष्टि गर्छन्।
कार्की निकट एक सांसद भन्छन्, 'सम्बन्ध राम्रो हुँदा सबै दिने र बिग्रिएपछि सिध्याउनै खोज्ने ओलीको पुरानै शैली हो।'
तर, महासचिव पोखरेलको समूहले निर्णयहरू कमिटीगत प्रणालीबाटै हुनुपर्ने दबाब दिइरहेकाले परिणाम जसको पक्षमा पनि जान सक्ने नेताहरूको दाबी छ।