इरानमा शुक्रबारदेखि अमेरिकी हमला भएको छैन।
त्यसअघि प्रत्येक दिनजसो अमेरिकी हमला हँदै आएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकमले) ले हरेक दिन इरानमाथि हमला गरिएको र सम्पन्न भएको भनेर सामाजिक सञ्जालमा अपडेट गराउँदै आएको थियो।
सेन्टकमले दुई दिनदेखि भने इरानमा हमला गरिएको विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन।
अमेरिकी अनलाइन एक्सियसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई निर्देशनपश्चात इरानमाथिको आक्रमण रोकिएको जनाएको छ।
लगातार १३ दिनसम्म दैनिक रूपमा आक्रमण स्वीकृत गर्दै आएका ट्रम्पले पहिलोपटक आक्रमण रोक्ने निर्णय गरेपछि इरानसँग कुटनीतिक समाधान खोज्ने प्रयासलाई थप समय दिन चाहेको संकेत देखिएको छ।
ट्रम्पको निर्णय एक दिनका लागि मात्रै हो वा अब केही समय आक्रमण रोकिरहने रणनीति हो भन्ने अझै स्पष्ट भएको छैन।
यद्यपि अमेरिकी अधिकारीहरूका अनुसार प्रमुख युद्ध अभियान फेरि सुरु नगरेसम्म हालको हवाई आक्रमणले आफ्नो प्रभावकारिताको सीमा लगभग पुगिसकेको निष्कर्षमा ट्रम्प पुगेका छन्।
यद्यपि आवश्यक परेमा अमेरिकी सेना छोटो समयमै फेरि आक्रमण सुरु गर्न तयार रहेको बताइएको छ।
स्रोतहरूका अनुसार सेनाले इरानविरुद्ध ठूलो सैन्य अभियान पुनः सञ्चालन गर्ने सम्भावित योजनाहरू तयारी अवस्थामा राखेको छ। तर त्यसतर्फ अघि बढ्न ट्रम्पले अहिलेसम्म कुनै आदेश दिएका छैनन्।
पछिल्ला दुई सातादेखि अमेरिकी सेनाले हरेक दिन हमलाको योजना बनाउने र ट्रम्पले त्यसलाई स्विकृति दिने गर्दै आएका थिए।
ट्रम्पले स्विकृति दिएको केही घण्टाभित्रै ती आक्रमण कार्यान्वयन हुने गरेको थियो।
शुक्रबार पनि सेनाले इरानमाथि हमला गर्ने योजना ट्रम्पसमक्ष पेस गरेका थिए। तर ट्रम्पले स्वीकृति नदिएको बरू आक्रमण रोक्न निर्देशन दिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर एक्सियसले लेखेको छ।
निर्देशन दिएलगत्तै ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूसँग आक्रमण जारी राख्ने वा अझ व्यापक बनाउने विकल्प रहेको बताए।
'हामीले चाहे उनीहरूसँग भएका सबै कुरा ध्वस्त पार्न पनि सक्छौं। तर मेरो विचारमा सबैभन्दा बुद्धिमानी रणनीति भनेको सम्झौता गर्नु हो,' सेन्टकमलाई निर्देशन दिँदै ट्रम्पले भनेका छन्।
ट्रम्पले इरानसँग अहिले पनि वार्ता भइरहेको जानकारी दिँदै इरान वार्ताप्रति दिनप्रतिदिन गम्भीर बन्दै गएको दाबी गरे।
'हामी अहिले उनीहरूसँग कुरा गरिरहेका छौं। उनीहरू दिनप्रतिदिन अझ गम्भीर बन्दै गएका छन् भन्ने मलाई लाग्छ। हामी पूर्ण रूपमा तयार छौं, तर वार्ता पनि गरिरहेका छौं।'
तर शुक्रबार साँझ ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनको कार्यक्रममा बोल्दै ट्रम्पले तत्कालै इरान सम्झौताका लागि तयार देखिएको आफूलाई नलागेको बताए।
'मलाई लाग्दैन उनीहरू अहिले सम्झौताका लागि तयार छन्। तर म उनीहरूको कुरा सुन्न तयार छु।'
अमेरिकाले शुक्रबार पनि ठूलो सैन्य आक्रमण गर्छ भनेर इसराइलको सुरक्षा मन्त्रिपरिषद् र रक्षा बल (आइडीएफ) उच्च सतर्कतामा बसेको थियो। सम्भावित अमेरिकी आक्रमणपछि इरानले इसराइलमाथि प्रतिशोधात्मक हमला गर्न सक्ने आकलन गर्दै इसराइलले त्यसअनुसार तयारी गरेको थियो।
अमेरिकाले अन्ततः थप आक्रमण नगर्ने निर्णय गरेको जानकारी इसराइलले शुक्रबार राति मात्रै पाएको बताइएको छ।
ट्रम्पले आक्रमण रोक्ने निर्णय ओमानको प्रतिनिधिमण्डल शुक्रबार तेहरान पुगेको केही घण्टापछि आएको हो। उक्त प्रतिनिधिमण्डल इरानसँग हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ व्यवस्थाबारे वार्ता गर्न तेहरान पुगेको थियो।
वार्ताबारे जानकारी भएका दुई क्षेत्रीय स्रोतका अनुसार छलफलमा उल्लेखनीय प्रगति भएको छ र ओमान तथा इरानबीच सप्ताहन्तभित्रै सहमति हुन सक्ने सम्भावना छ।
यदि त्यस्तो सहमति भयो भने त्यसलाई स्वीकार गर्ने वा नगर्ने अन्तिम निर्णय राष्ट्रपति ट्रम्पले गर्नेछन्।
यस घटनाक्रमले अमेरिकाले सैन्य दबाब कायम राख्दै कूटनीतिक वार्तामार्फत समाधान खोज्ने रणनीतिलाई समानान्तर रूपमा अघि बढाइरहेको संकेत गरेको विश्लेषण गरिएको छ।