नेपाली कांग्रेसले प्रदेश सभापतिहरू र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ।
आज केन्द्रीय कार्यालय सानेपामा आफ्ना प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल भएको हो।
बागमती, गण्डकी, सुदूरपश्चिम र मधेसमा कांग्रेस नेतृत्वमा सरकार छ।
शनिबार नेकपा एमाले र नेकपाबीच प्रदेशहरूमा सरकार बनाउने सहमति भएको थियो।
कांग्रेसले तीन ठूला दल मिलेर सातै प्रदेशमा सरकार बनाउने प्रस्ताव अस्वीकार गरेपछि एमाले र नेकपाले सरकार बनाउने सहमति गरेका थिए।
बदलिँदो राजनीतिक घटनाक्रमपछि कांग्रेसले प्रदेश सभापतिहरू र मुख्यमन्त्रीहरूसँग आज छलफल गरेको हो।
छलफलमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भने, ‘हामी सातै प्रदेशका पार्टीका सभापति, संसदीय दलको नेता र जहाँ मुख्यमन्त्री हुनुभएको छ, मुख्यमन्त्रीलाई बोलाएर पार्टी सभापतिले परामर्श लिनुभएको हो, अहिले प्रदेश सरकारको बीचमा जुन किसिमको परिस्थिति निर्माण भएको छ, त्यो परिस्थितिमा संघीयता लोकतन्त्र र संघीयता मान्दै निर्वाचनमा सहभागी भएका प्रदेश संरचनामा जुनजुन दल आएका छन्, त्यो दलहरू बीचमा सहकार्य गरेर कसरी जान सकिन्छ या प्रतिपक्षमा बस्नुपर्ने कहाँको अवस्था के छ, कम्पोजिसन हेरेर त्यहीअनुसार अगाडि बढ्ने भन्ने विषयमा नै मुलतः त्यही विषयमा नै कुरा गरियो।’
गण्डकी र मधेसमा एमाले र नेकपाले मात्र सरकार बनाउन सक्दैनन्।