राष्ट्रिय योग्यता प्रणाली (नीट) प्रश्नपत्र लीक प्रकरणविरूद्ध अनसन बसेका सामाजिक अभियानी सोनम वाङचुक आज सोमबार मेदान्ता अस्पतालबाट डिस्चार्ज हुँदै छन्।
अस्पतालबाट डिस्चार्ज भएर लद्दाख फर्किनुअघि उनले सामाजिक सञ्जाल 'एक्स' (ट्वीटर) मा एउटा भिडिओ जारी गर्दै भनेका छन्, ''आज त्यो दिन आयो जब म यस अस्पतालबाट डिस्चार्ज भइरहेको छु। धेरै राम्रो महसुस गरिरहेको छु। म राम्रोसँग खाइरहेको छु र शरीरमा शक्ति पनि आउँदैछ।'
उनले आफ्नो घर लद्दाख फर्किनुअघि दिल्लीको राजघाट गएर महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने बताएका छन्।
'तपाईंहरूलाई याद होला, म स्विट्जरल्यान्डबाट आउँदा राजघाटमा श्रद्धाञ्जलि अर्पण गरेपछि मात्रै अनसन सुरू गर्न जन्तर-मन्तर गएको थिएँ,' उनले भने।
'फर्किनुअघि म ती सम्पूर्ण मानिसहरूलाई धन्यवाद दिन चाहन्छु जसले आवाजमा आवाज मिलाएर एउटा आन्दोलन चलाए र हामी सफल पनि भयौं। हामी अगाडि पनि तपाईंहरूसँग जोडिरहने छौं।'
नीट प्रश्नपत्र लीक प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग राख्दै सोनम वाङचुक दिल्लीको जन्तर-मन्तरमा अनसन बसेका थिए।
दिल्ली प्रहरीले उनलाई त्यहाँबाट हटाएर सफदरजंग अस्पताल लगेको थियो। पछि उनलाई गुरूग्रामको मेदान्ता अस्पतालमा भर्ना गरियो, जहाँ २६ दिनपछि उनले आफ्नो अनसन तोडेका थिए।