प्रश्नपत्र लीकविरूद्ध बिहारमा भएको विद्यार्थी आन्दोलन दबाउन प्रहरीले एके-४७ राइफल प्रयोग गरेको भिडिओ सार्वजनिक भएको छ।
बिहारको सिवानमा भएको विरोध प्रदर्शन क्रममा एके-४७ राइफलबाट गोली चलाइँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि राज्यका एक प्रहरी कर्मचारीमाथि कारबाही गरिएको छ।
प्रहरी उपरीक्षक (एसी) पुरन कुमार झाले सोमबार ती प्रहरीलाई निलम्बन गरिएको बताएका छन्।
'जिल्ला गुप्तचर इकाईमा कार्यरत ती जवानले विद्यार्थी प्रदर्शन क्रममा एके-४७ राइफल प्रयोग गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ,' झाले भारतीय समाचार संस्था पिटिआईलाई भनेका छन्, 'उनीविरुद्ध विभागीय कारबाही पनि सुरू गरिएको छ।'
गत साताको अन्त्यमा बिहारमा विद्यार्थी प्रदर्शन हिंसात्मक बनेको र राज्यभरि प्रहरी र विद्यार्थीहरूबीच झडप भएपछि उक्त कारबाही भएको थियो।
धेरै विपक्षी नेताहरूले विद्यार्थी प्रदर्शन क्रममा प्रहरीले एके-४७ चलाएको भाइरल भिडिओ र अन्य यस्तै घटना सेयर गर्दै सत्तारूद्ध भारतीय जनता पार्टीसँग जबाफ मागेका छन्।
भारतीय समाचार संस्था 'एएनआई' को रिपोर्ट अनुसार, सिवानमा भिड तितरबितर पार्न प्रहरीले अश्रुग्यासका गोला प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो।
सिवानमा प्रहरीले चलाएको भनिएको गोली लागेर कम्तिमा तीन जना विद्यार्थी घाइते भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार घाइतेहरूलाई प्रहरीको गोली लागेको हो कि होइन पत्ता लगाउन छानबिन भइरहेको छ।
गोलीकाण्डपछि सिवानका एसपीले घाइतेहरूको पुष्टि गर्दै भने, 'प्रदर्शनकारीहरूसँग मिसिएका केही असामाजिक तत्वहरूले जेपी चोकमा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो... दुवै तर्फबाट गोली चलेकाले घाइतेहरूलाई प्रहरीको गोली लागेको हो कि प्रदर्शनकारीको गोली लागेको हो भन्नेबारे हामीले अझै यकीन गर्न बाँकी छ।'
अखिल भारतीय विद्यार्थी एसोसिएसन र अन्य विद्यार्थी संगठनहरूले आह्वान गरेको राज्यव्यापी बन्द क्रममा शनिबार पटनामा पनि विद्यार्थी र प्रहरीबीच यस्तै झडपका घटना भएका थिए।
प्रहरी दमनका भिडिओहरू भाइरल भएपछि विपक्षी दलका नेता राहुल गान्धीले 'एक्स' मा लेखेका छन्, 'बिहारमा प्रदर्शनकारी विद्यार्थीहरूमाथि एके-४७ को गोली प्रहार गरिएको र सयौं विद्यार्थीलाई जाहेरी दर्ता गरी गिरफ्तार गरिएको खबर आइरहेको छ।'
उनी अगाडि लेख्छन्, 'दिल्लीमा विद्यार्थीहरूमाथि पेलेट गन चलाइयो र बिहारमा एके-४७। उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार वा दिल्ली जहाँसुकै होस्—सबैतिर एउटै ढाँचामा दमन गरिएको छ।'
गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग विद्यार्थीहरूविरूद्ध जाहेरी दर्ता नगरिने र उनीहरूलाई तत्काल रिहा गरिने भन्ने केन्द्र सरकारको 'आश्वासन' माथि पनि प्रश्न उठाए।
आम आदमी पार्टीले पनि एक्समा भिडिओ सेयर गर्दै भाजपाले लोकतन्त्रलाई फायरिङ रेन्जमा परिणत गरेको आरोप लगाएको छ।