आइतबार रातिबाट सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सुरू भएको विवाद केही बेरमै हिंसात्मक झडपमा बदलिन पुग्यो।
गाउँमा रातभरजसो गुन्जिएको बन्दुकका आवाजले स्थानीयबासीलाई अहिले पनि अत्याइरहेको छ। त्योभन्दा पनि उनीहरूको नौनाडी गलाउने कारण बनेको छ, छिनछिनमा अस्पतालबाट आइरहने अनेकथरी खबर।
आइतबार रातिको झडपमा प्रहरी गोलीले घाइते बनेका उनीहरूका आफन्त अस्पतालमा उपचाररत छन्। तीमध्ये २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गइसकेको छ भने अरू घाइतेको अवस्था के होला भनेर स्थानीय कहालिएका छन्।
एक जना युवाको ज्यान जाने र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते भएको यो घटनामा सुरक्षाकर्मीहरूले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको स्थानीयको आरोप छ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग पनि गरेका छन्।
विराटनगरको न्युरो अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था हेर्दा धेरैलाई कम्मरभन्दा माथि गोली लागेको देखिन्छ।
कक्षा १० मा अध्ययनरत मिथिलेश मेहताको पेटमा गोली लागेको छ। उनका पिता दिलीप मेहता अस्पतालबाहिर छोराको अवस्थाबारे जानकारी लिँदै व्यग्र देखिन्थे।
उनका अनुसार राति खाना खाएर सुत्ने तयारीमा रहेका छोरा बाहिर होहल्ला भएपछि के भइरहेको छ भनेर हेर्न निस्किएका थिए। त्यसपछि उनी गोली लागेर अस्पताल पुग्नुपर्यो।
यही अस्पतालमा उपचाररत २२ वर्षीय अमलेश मेहताको ढाड र गर्धनमा गोली लागेको छ।
त्यस्तै, हरेराम यादवको देब्रे तिघ्रामा गोली लागेको छ भने जयप्रकाश मेहताको पेटमा गोली लागेको छ। मेहताको पेटबाट गोली निकाल्न शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
उता विराट नर्सिङ होममा रवीन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र सुनिल मेहता उपचाररत छन्। त्यस्तै, नोबेल अस्पतालको सघन उपचार कक्षमा अमित यादवको उपचार भइरहेको छ। उनीहरू सबै देवानगन्ज ३ र ४ नम्बरमा बासिन्दा हुन्।
विराट नर्सिङ होम र नोबेल अस्पतालमा उपचाररत घाइतेहरू पनि धेरैलाई कम्मरभन्दा माथि नै गोली लागेको देखिन्छ।
गृह मन्त्रालयले यो घटना छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्व परिवर्तन गरेको छ।
स्थानीयका अनुसार आइतबार साँझ साउने सोमबारका लागि बोलबम यात्राको तयारी भइरहेको थियो। त्यस क्रममा ठूलो आवाजमा डिजे बजाइएको भन्दै राति करिब ९ बजेतिर अर्को समूहका केही व्यक्ति आएर रोक्न खोजेपछि असमझदारी सुरू भएको थियो।
यही असमझदारी बढ्दै स्थिति नियन्त्रणबाहिर पुगेको स्थानीय बताउँछन्।
सोमबार बिहान गाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। सुनसरी प्रशासनले बिहानैबाट कर्फ्यु आदेश जारी गरेको थियो। तर रातको घटनाले त्रास र आक्रोश दुवै बढाएका स्थानीयबासी कर्फ्युको परवाह नगरी प्रदर्शनमा ओर्लेका थिए।
आइतबार रातिको झडपपछि देवानगन्ज मात्र होइन, सुनसरीका अन्य क्षेत्रमा पनि तनाव फैलियो। इनरूवासहित विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र राजमार्ग अवरोधका घटना भए।
स्थानीय एक जनप्रतिनिधिका अनुसार सामान्य विवाद केही बेरमै ढुंगामुढा, लाठी र धारिलो हतियार प्रयोग हुने झडपमा परिणत भएको थियो। बजार क्षेत्र तनावग्रस्त बन्दै गएपछि स्थिति नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरियो।
जिल्ला प्रहरीका निमित्त प्रमुख डिएसपी चन्द्र खड्काका अनुसार अनुसार भिड नियन्त्रण क्रममा अश्रुग्यास प्रहार गरिएको थियो। नेपाल प्रहरीले केही राउन्ड र सशस्त्र प्रहरीले दुई दर्जनभन्दा बढी राउन्ड हवाई फायर गरेको जनाएको छ।
त्यस क्रममा सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको प्रहरीको दाबी छ। इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राई टाउकोमा चोट लागेर घाइते भएका छन्।
आइतबार रातिको घटनापछि सोमबार बिहानैदेखि विभिन्न स्थानमा प्रदर्शन सुरू भएको थियो। देवानगन्ज–२ मा गाउँपालिका कार्यालय नजिक केही व्यक्तिको घर, हार्डवेयर पसल, मोटरसाइकल र एउटा ट्र्याक्टरमा आगजनी गरिएको प्रहरीले जनाएको छ। कप्तानगन्जमा पनि सवारी साधन तथा अन्य सामग्रीमा आगजनीको प्रयास भएको थियो।
इनरूवामा प्रदर्शनकारीले बजार बन्द गराएका थिए। केही सवारी साधन तथा संरचनामा तोडफोड गरे र पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थान अवरूद्ध बनाए। स्थिति थप बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गर्यो।
कर्फ्युका बाबजुद केही स्थानमा प्रदर्शन जारी रहेपछि प्रशासनले नेपाली सेना परिचालन गर्यो। सेनाको उपस्थितिपछि अवस्था क्रमशः नियन्त्रणतर्फ उन्मुख भए पनि स्थानीयमा त्रास भने कायम रहेको देखिन्छ।
'बिहान हेर्दा आफ्नै गाउँ कुनै लडाइँ चलिरहेको बिरानो भूमि जस्तो लाग्थ्यो,' विराटनगरस्थित न्यूरो अस्पतालमा घाइते आफन्त भेट्न आएका देवानगन्ज-३ का युवा सन्दिप मेहताले भने, 'सडकभरि ढुंगैढुंगा छरिएको थियो। पसलका सटरहरू सबै बन्द। भुइँभरि रगतका टाटा थिए।'
देवानगन्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताका अनुसार तनाव देवानगन्जबाट सुनसरीका अन्य स्थानसम्म फैलिएको थियो।
'अहिले सुरक्षाकर्मीको उपस्थितिले अवस्था केही शान्त देखिएको छ,' अध्यक्ष मेहताले भने, 'तर तनाव साम्य पार्न संवादबाट मात्रै सम्भव छ। सरकार र प्रशासनले सबै पक्षसँग बसेर विश्वासको वातावरण बनाउनुपर्छ।'
उनका अनुसार देवानगन्जका लागि अबको चुनौती घटनाको दोषी पहिचान गर्नु मात्र होइन, आपसमा झाँगिएको अविश्वास पुनर्स्थापित गर्नु पनि हो।
'सरकार, नागरिक सबै मिलेर त्यसका लागि ठोस पहल गर्नुपर्छ,' अध्यक्ष मेहताले भने।
स्थानीयबासीले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। कांग्रेस सभापति गगन थापादेखि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, रास्वपा सांसद लालविक्रम थापासम्मले घटनाको छानबिन गर्न र कसिलो सुरक्षा प्रबन्धको माग सरकारसँग गरेका छन्।