स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न अपिल गरेको छ।
मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले अपिल जारी गरेका हुन्।
‘स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ,’ अधिकारीले भनेका छन्।
मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरू प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
यसमा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूले आवश्यक कार्य गरिरहेको बताएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोड भएको थियो।
आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरू समेत घाइते भएका थिए। यसमा संलग्नहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कारबाही गर्न संघले माग गरेको छ।
तर उक्त माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रमुख एवं एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कारयकारिणी समितिका
सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ। संघले यस घटनाको भत्सर्ना गरेको छ।
यसरी चिकित्सकहरूको मानमर्दन गरेको भन्दै एसपी र सिडिओलाई समेत कारबाहीको माग संघले गरेको छ।
संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेला पछि तय गर्ने घोषणा समेत गरेको छ।
