सुनसरी देवानगन्जको कप्तानगन्जमा उत्पन्न तनावका कारण कोशी प्रदेश राजधानी विराटनगरसमेत प्रभावित बनेको छ।
त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरको मुख्य बजार क्षेत्र र विद्यालयहरू बन्द छन्।
निजी विद्यालय सञ्चालकहरूले भने मंगलबार बिदा दिने भनेर सोमबार नै निर्णय लिएको बताएका छन्।
कप्तानगन्ज क्षेत्रको अवस्था बिस्तारै शान्त बन्दै गए पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्मको क्षेत्रमा भने प्रदर्शन चर्किएको छ।
सडकमा विभिन्न स्थानमा टायर बालेर यातायात पूर्ण रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्ज क्षेत्र साम्य हुने क्रममा रहे पनि राजमार्गमा प्रदर्शन जारी छ।
अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यद्यपि, लामो समयदेखि सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र स्थिति सामान्य नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ।
आइतबार राति र सोमबार दिउँसो भएका घटनाप्रति दुःख व्यक्त गर्दै सुनसरीका तीन स्थानीय तहले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले घटनाको शोकमा मंगलबार स्थानीय बिदा दिएका छन्। हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विज्ञप्ति जारी गरेर अनुसार गाउँ कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरू बन्द रहने जानकारी दिएका छन्।
देवानगन्ज घटनामा एक जनाको ज्यान गएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।