अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबिना इसराइलको अस्तित्व नरहने दाबी गरेका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग महिनौंपछि मंगलबार हुन लागेको भेटअघि उनले त्यसो भनेका हुन्।
फेब्रुअरी २८ मा अमेरिका र इसराइलले इरानमाथि संयुक्त आक्रमण गरेपछि दुई नेता पहिलो पटक भेट्न लागेका हुन्।
मध्यपूर्वमा अमेरिका र इसराइलका स्वार्थहरू फरक देखिन थालेका बेला यो बैठक हुन लागेको हो।
इसराइलले आफ्ना युद्धका कुनै पनि लक्ष्यहरू हासिल गर्नुअघि नै ट्रम्पले गत अप्रिलमा इरानसँग युद्धविरामको घोषणा गरेका थिए। गत जुनमा अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीपत्र (एमओयू) पनि इसराइलसँग सल्लाह नगरिकनै भएको थियो।
नेतन्याहूसँगको भेटअघि बोल्दै ट्रम्पले आफ्नो र उनको सैन्य उद्देश्यमा 'अलिकति भिन्नता' रहेको स्वीकार गर्दै नेतन्याहूसँग तनाव रहेको संकेत दिए।
उनले अमेरिका धेरै देशहरूप्रति अति नै उदार बन्दै आएको पनि बताए।
'साँचो भन्नुपर्दा, हामीबिना टिकिरहन नसक्ने धेरै देशहरूप्रति धेरै राम्रो भइरहेका छौँ। अनि हामीबिना को टिकिरहन सक्दैन, थाहा छ? इसराइल,' एयर फोर्स वनमा पत्रकारहरूसँग ट्रम्पले भने, 'बिबी (नेतन्याहू) आउँदैछन्, उनी आफैले भन्छन्।'
गत वर्ष ट्रम्पले दोस्रो कार्यकाल सुरू गरेपछि ट्रम्प र नेतन्याहू आठौं पटक भेट्न लागेका हुन्। दुई नेता रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुनुभन्दा केही घण्टा अघि सो भेट गर्नेछन्। ग्राहम इरान युद्धका प्रभावशाली समर्थक र वासिङ्टनमा नेतान्याहूका प्रमुख सहयोगी थिए।
सोमबार अमेरिका प्रस्थान गर्नुअघि नेतन्याहूले यो बैठक 'सबैभन्दा पहिले र मुख्य रूपमा' इरानका विषयमा हुने तर 'सबै मुद्दाहरू' कार्यसूचीमा रहने बताएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)