वीरगञ्ज महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष आशुतोष चर्तुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको घटनामा सोधपुछका लागि उनी सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले वडा अध्यक्ष आशुतोष र एक युवकलाई सोधपुछका लागि ल्याइएको जानकारी दिए।
‘सोधपुछका लागि ल्याएका छौं, पक्राउ गरिन्छ कि छोडिन्छ अहिले नै भन्न सकिन्न,’ उनले भने।
गत शनिबार हर्टअट्याक भएपछि वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेललाई नारायणी अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। मृतकका आफन्तले उपचारमा लापरबाही भएको भन्दै अस्पतालमा तोडफोड गर्नुको साथै आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए।
डा. प्रमोदको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।
घटनामा संलग्नमा रहेको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका वडा नं ८ बस्ने २३ वर्षीय अंकित पटेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।