अमेरिका र साउदी अरबले इराकमा हमला गरेको छ।
इराकमा इरान समर्थित सशस्त्र समूहहरूलाई लक्ष्य गरेर अमेरिका र साउदी अरबले पूर्वी इराकका विभिन्न हतियार भण्डारण स्थलमा हवाई हमला गरेको भनेर अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ।
साउदी रक्षा मन्त्रालयले पनि बुधबार विज्ञप्ती जारी गरेर हालै साउदीका तेल पूर्वाधारलाई लक्षित गरी गरिएका ड्रोन आक्रमणको जवाफस्वरूप ती कारबाही गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार यसअघि साउदीको हवाई प्रतिरक्षा प्रणालीले पूर्वी प्रान्त र रियाद क्षेत्रका पेट्रोलियम पूर्वाधारलाई निशाना बनाएर प्रहार गरिएका धेरै ड्रोन खसालेको थियो।
ती ड्रोन इराकको भूमिबाट प्रहार गरिएको र इरानसँग सम्बन्धित समूहले सञ्चालन गरेको साउदीको दाबी छ।
'साउदी अरेबिया तनाव बढाउन चाहँदैन, तर आफूविरुद्ध हुने कुनै पनि आक्रमणको उचित जवाफ दिनेछ,' आक्रमणपछि साउदी रक्षा मन्त्रालयले भनेको छ।
तर इरान समर्थित सशस्त्र समूहहरूको छाता संगठन 'इस्लामिक रेसिस्टेन्स इन इराक' ले भने ड्रोन आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
समूहले साउदीका आरोपलाई बनावटी भन्दै अस्वीकार गरेको छ। साथै उसले साउदीले कुनै पनि मूर्खतापूर्ण कदम चाले त्यसको कडा जवाफ दिने चेतावनी पनि दिएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले पनि वक्तव्य जारी गरेर पछिल्लो ७२ घन्टामा भएका ड्रोन हमलाको जबाफमा पूर्वी इरकाकको विभिन्न स्थानमा आक्रमण गरिएको भनेको छ।
इराकमा आफू समर्थित सशस्त्र समूहलाई लक्ष्य गरेर हमला गरेपछि इरानले पनि जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हमला गरेको छ।
अमेरिकी सेनाले ती सबै हमलाहरू विफल पारिएको बताएको छ। इरानले त्यहाँ ड्रोनसँगै ब्यालिस्टिक मिसाइल पनि प्रहार गरेको कतारी टेलिभिजन नेटवर्क अल जजिराले जनाएको छ।
सेनाले आफूहरु उच्च सतर्क र पूर्ण तयारी अवस्थामा रहेको पनि बताएको छ। सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)लाई त्यस्ता आक्रमण तत्काल नरोके थप अमेरिकी सैन्य कारबाही हुन सक्ने पनि चेतावनी दिएको छ।
अमेरिकी सेनाले इराकमा भएको आक्रमण र इरानी मिसाइल अवरोधको समय भने स्पष्ट गरेको छैन।
इरानले अमेरिकी सैन्य दाबी वा इराकमा भएको आक्रमणबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर यससँगै केही दिनदेखि देखिएको युद्धविरामजस्तै अवस्था फेरि अन्त्य भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनालाई आक्रमण रोक्न निर्देशन दिँदै कुटनीतिक तवरबाट समस्या समाधान गर्ने बताएका थिए। इरानले पनि अमेरिकाले नहाननुन्जेल आफूले पनि कुनै पनि हमला नगर्ने बताएको थियो।
त्यसपछि केही दिनदेखि कुनै नयाँ आक्रमण घोषणा भएको थिएन।
बुधबारको घटनापछि दुवैले एकअर्कामाथि फेरि हमला गर्न सक्ने खतरा पैदा भएको छ।
विशेषगरी विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने रणनीतिक होर्मुज जलमार्गलाई लिएर भएको तनावपछि दुवै पक्षबीच अस्थायी शान्ति देखिएको थियो।
तर मंगलबारको घटनाले त्यो विराम अन्त्य गरेको छ।
युद्ध पुनः चर्किँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु दबाब पनि बढेको छ।
पछिल्ला हप्ताहरूमा युद्धका क्रममा चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने युद्धको बढ्दो खर्च व्यवस्थापनका लागि पेन्टागनले कांग्रेससँग थप बजेट मागेको छ।
होर्मुज जलमार्ग अझै बन्द रहेकाले तेलको मूल्य बढेको छ। यसले अमेरिकामा इन्धन महँगिएसँगै नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि रिपब्लिकन पार्टीमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ।
यसै इराकका प्रधानमन्त्री अली अल–जाइदी बिहीबार साउदी अरेबियाको भ्रमणमा जाने अपेक्षा गरिएको छ। उनले केही दिनअघि साउदीमाथि भएका ड्रोन आक्रमणबारे अनुसन्धान गर्न इराकका सुरक्षा निकायलाई निर्देशन दिएका थिए।