नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठक र सबैलाई जोड्ने प्रयास नगरेको भन्दै प्रधानमन्त्री बालेन शाहको भूमिकाप्रति प्रश्न उठाएका छन्।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा धारणा राख्दै सभापति थापाले सुनसरी घटनापछिको अवस्थामा पनि प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास नगरेको बताएका हुन्।
उनले रास्वपा सभापति रविलाई भने सर्वदलीय बैठक राखेकोमा धन्यवाद दिएका छन्।
‘एउटा प्रश्न रास्वपा सभापतिमार्फत् सरकारलाई राखेका छौं, यतिबेला सरकार के गरिरहेको छ? सरकार कहाँ छ? सरकार केबल गोली र लाठीमा मात्र भेटिनु र स्टाटसमा मात्र सीमित रहने? सरकार भनेको अभिभावक मात्र होइन लिडर पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्,’ सभापति थापाले भने।
प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने उनको भनाइ छ।
‘यस्तो बेलामा त प्रधानमन्त्रीले सर्वदलीय बैठक राख्ने, राष्ट्रपति भेट्ने, प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने र आफूले गरेका प्रयास बताउने हो,’ सभापति थापाले भने, ‘साझा प्रयासका आधार तयार गर्ने हो। भूकम्प र कोरोनाका बेला पनि राजनीतिक दलबीच तनाव थियो तर सबै कुरा छाडेर दौडिएर सबै दलका नेताहरू सिंहदरबार आएका थियौं। यो नेपालको दलहरूको चरित्र हो।’
उनले सुनसरीमा भएको घटनाबारे पार्टीका सांसदहरूले संसदमा कुरा उठाउने र यो छानबिनको विषय हुनुपर्नेमा जोड दिएका थिए।
‘कसैलाई दोष दिएर पाइन्न। यो राज्यको असफलताको निरन्तरता हो। मधेसमा कुनै घटना भए त्यहाँ अत्याधिक बल प्रयोग गरिन्छ, विगतमा पनि गलत अहिले पनि गलत हो यस्तो कुरा,’ उनले भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्री भाउ खाएर बस्ने हो? प्रधानमन्त्री ठालु भएर बस्ने हो सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन? प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास गर्नुपर्छ भन्ने हामीलाई लाग्छ, गर्नुहोस्। हामी सरकारलाई सहयोग गर्न चाहन्छौं।’
उनले सामाजिक सद्भावका लागि कांग्रेसले भूमिका निर्वाह गर्दै आएको बताएका थिए।
सुनसरीमा दुई पक्षबीच तनावको स्थिति सिर्जना भएको छ। प्रहरीको गोलीले एक जनाको मृत्यु भएको थियो। साथै झडपमा १२ जना घाइते भएका थिए।
सर्वदलीय बैठकमा सभापति थापा सुरूमा कुरा राखेर निस्किएका हुन्। पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि आकस्मिक केन्द्रीय समिति बैठक राखिएको र त्यसमा सहभागी हुन आफू कार्यालय जानुपर्ने भएकोले सुरूमा कुरा राखेको उनको भनाइ छ।