नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुनसरी घटनाका सन्दर्भमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने बताएका छन्।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले सरकारको आलोचना पनि गरेका छन्।
'यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन,' प्रचण्डले भने।
सुनसरीमा देखिएको तनावप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका थिए।
यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने उनले बताए।
'विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौं। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ। तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ। आज रास्वपा सभापति रवि लामिछानेजीले बैठक राख्नु भएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु,' उनले भने।
बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उनले बताए।
'संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ। हाम्रो पार्टीले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक आन्तरिक निर्देशनसमेत दिएको छ। घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक छ,' पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने।
यो राजनीतिक तिक्तता बढाउने समय नभई जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उनले बताए।
'घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कारबाही हुनुपर्छ । सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्नुपर्छ,' उनले भने।