रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न दबाव हाल्न अमेरिकाले रूसी तेल र ग्यास खरिदकर्तामाथि व्यापक प्रतिबन्ध लगाउने तयारी गरेको छ।
रूस तथा रूसी तेल र ग्यास खरिद गर्ने व्यक्ति तथा संस्था विरुद्ध प्राथमिक र अतिरिक्त प्रतिबन्ध लगाउने विधेयकलाई अमेरिकी सिनेटले ८६–१२ को मतले मंगलबार राति अगाडि बढायो।
यसले अमेरिका युक्रेन प्रति सकारात्मक बन्दै गएको स्पष्ट संकेत गर्छ। सिनेटमा प्रतिबन्धको प्याकेजबारे मतदान हुनु अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्याण्डका राष्ट्रपति अक्जेन्डर स्टबले सो प्याकेजलाई समर्थन गर्न आग्रह गर्दै संसद परिसरमा बन्द कोठाभित्र सिनेटरहरूलाई सम्बोधन गरेका थिए।
सो विधेयकले रूसी अधिकारी, धनाड्य र उनीहरूका परिवारका सदस्यहरूका साथै देशका बैंकहरू र वित्तीय संस्थाहरूलाई मुख्य रूपमा लक्षित गर्नेछ। यसले ट्रम्पलाई रूसी तेल र ग्यास खरिद गर्ने देशहरूबाट आयातित सामानहरूमा भन्सार महसुल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुमति पनि दिनेछ।
यो विधेयक मंगलबार राति अघी बढेपछि आगामी दिनमा सिनेटबाट औपचारिक रूपमा पास हुनेछ। अनि प्रतिनिधि सभाबाट पनि यस्तै द्विदलीय समर्थनका साथ पारित भई ट्रम्पको टेबलमा हस्ताक्षरका लागि पुग्ने अपेक्षा गरिएको छ।
यो प्रतिबन्ध प्याकेजलाई आधिकारिक रूपमा ‘लिन्ड्रसे ओ ग्राहम स्याक्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ भनिएको छ। यो नाम यसै महिनाको सुरुमा ७१ वर्षको उमेरमा अचानक निधन भएका स्वर्गीय अमेरिकी सिनेटरको सम्मानमा राखिएको हो।
वाशिंगटनमा ग्राहमको अन्तिम संस्कार भएको केही घण्टापछि मंगलबार सिनेटमा यो विधेयकबारे मतदान भएको थियो। सो समारोहमा जेलेन्स्की, स्टब र इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतका अन्य विश्व नेताहरू सहभागी थिए।
ग्राहमले लामो समयदेखि विदेश नीतिमा कडा अडान राख्ने र युक्रेनलाई बलियो समर्थन गर्थे। उनले रूस र रूसी ऊर्जा खरिदकर्तामाथि आर्थिक दबाब नाटकीय रूपमा बढाउने उद्देश्यले ल्याइएको विधेयकलाई बाटो खुला गरिदिन ट्रम्पलाई एक वर्षभन्दा बढी समयदेखि दबाब दिइरहेका थिए।
आफ्नो निधनको केही दिन अगाडि उनी युद्ध सुरु भएपछि युक्रेनको दशौं भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले आफू र अन्य सांसदहरूले उक्त विधेयकलाई अगाडि बढाउन ह्वाइट हाउससँग सम्झौता गरेको घोषणा गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)