राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबारमा आज आयोजित सर्वदलीय बैठकमा सुनसरीको कप्तानगञ्ज घटनाबारे गहिरो अनुसन्धान गर्न तुरून्त आयोग गठनको माग गरेका छन्।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज बिहान सर्वदलीय बैठक भएको थियो।
उक्त बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘कप्तानगन्ज घटना भुसको आगोसरी फैलिनु अगावै यसको जरासम्म पुगेर दीर्घकालीन समाधान निकालौं। तुरुन्तै आयोग बनाऔं, संवाद गरौं, यो हतारको र अति संवेदनशील विषय हो।’
उनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझियोस् पनि भनेका थिए।
‘तराई-मधेसमा हिन्दुहरूको चाडपर्व वा उत्सवहरूमा सधैं तनाव सिर्जना गरिन्छ र हिंसात्मक बनाइन्छ। यस्ता गतिविधिहरू योजनाबद्ध ढंगबाट भइरहेको छ। राज्यको सधैंको उदासीनताको कारण फेरि कप्तानगन्ज घटना भएको छ, जुन चिन्ताजनक छ,’ उनले भने, ‘पुराण, सप्ताह वा धार्मिक अनुष्ठानमा चर्को आवाज बजाउन निषेध गर्नेगरी मोरङ जिल्ला प्रशासन कार्यालयले जारी गरेको हिन्दुलक्षित नोटिस अपरिपक्व छ। अर्को धर्ममा पनि चर्को आवाज बजाउने चलन छ, त्यसमा प्रशासन केही बोलेको छैन। यसले इगो पैदा गर्छ। किन खेलवाड गरिँदैछ?’
उनले कप्तानगन्ज घटनाका मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गरिनुपर्ने तथा घाइतेहरूको प्रभावकारी उपचार हुनुपर्नेमा जोड दिए।
‘प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति, संस्कार र परम्पराको अभ्यास निर्वाध गर्न पाउनुपर्छ। संविधान र कानुनले सुनिश्चित गरेको नागरिक अधिकारको उपभोग निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्छ। हाम्रो सदियौंदेखिको सामाजिक सदभाव, आपसी एकता, शान्ति र भाइचारा कायम गरौं,’ उनले भने।