नेकपा एमाले महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो परिस्थिति हेरेर आयोजना गरिएको सर्वदलीय बैठक सकारात्मक भए पनि यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्ने बताए।
महासचिव पोखरेलले सरकार र प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेको अग्रसरतामा भएको छलफलमार्फत शान्ति, सद्भाव र सहिष्णुताका लागि संयुक्त विज्ञप्ति जारी गरिएको जानकारी दिए।
सुरक्षा निकायको कार्यसम्पादनमाथि चर्चा गर्दै महासचिव पोखरेलले दंगा र भिड नियन्त्रणका सन्दर्भमा सुरक्षा संयन्त्रहरू किन प्रभावकारी हुन सकिरहेका छैनन् भन्ने विषयमा गहिरो समीक्षा आवश्यक रहेको बताए।
उनले कुनै पनि प्रकारको भ्रममा नपरी सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, सामाजिक संघ-संस्था तथा धार्मिक व्यक्तित्वहरूलाई अपिलसमेत गरे। सुनसरी लगायतका प्रभावित क्षेत्रका जनसमुदायलाई सरकारले अभिभावकत्वको प्रत्यक्ष अनुभूति दिलाउनुपर्ने उनको भनाइ छ।
'सुरक्षा निकायको मनोबल गिरेका कारण वा साधन–स्रोतको अभावमा यस्ता घटना भएका हुन्, त्यसको सूक्ष्म अध्ययन हुनुपर्छ,' उनले भने, 'भविष्यमा मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्न सुरक्षा निकायको सामर्थ्य र क्षमता विकास गर्नु आजको अनिवार्य आवश्यकता हो।'
नागरिकको सुरक्षालाई साझा जिम्मेवारीको रूपमा अर्थ्याउँदै महासचिव पोखरेलले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सबै पक्षबाट सकारात्मक योगदानको अपेक्षा गरे।
न्यायको पर्खाइमा रहेका नागरिकका पक्षमा राजनीतिक दलहरू दृढतापूर्वक उभिएको उल्लेख गर्दै उनले कसैले पनि असुरक्षित महसुस गर्न नहुने वातावरण निर्माणमा जोड दिए।