सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङ सहभागी नभएको विषयमा पार्टी सभापति रवि लामिछानेले प्रस्टीकरण दिएका छन्।
बैठक सकिएपछि सभापति लामिछानेलाई पत्रकारहरूले सुनसरीको घटनासम्बन्धी छलफलमा प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएको विषयमा प्रश्न गरेका थिए।
जबाफमा सभापति लामिछानेले दलको बैठक भएका कारण प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएको बताए। उनले सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेको सहभागिता बैठकमा भएको प्रस्टीकरण दिए।
'यो बैठक राजनीतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमहरूलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने बैठक भएको हुनाले त्यसै ढंगले बसेको हो,' उनले भने।
सभापति लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहेको पनि बताए।
'प्रधानमन्त्रीले आफूले गर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले पनि आफूले गर्ने काम गरिहनुभएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई सुरूआत हुनेबित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने अवस्था छैन,' उनले भने।
दलहरूको पहिलो दायित्व शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने भएकाले को आयो को आएन भन्ने विषयमा नलाग्न पनि उनले अनुरोध गरे।
'आरोप, प्रत्यारोप, चर्का कुरा, कसले गल्ती गर्यो, गरेन। कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनेटमा बोल्यो, कसले कति ढिला बोल्यो त्यता जाने होइन,' उनले भने।
उनले गोली लागेर नागरिकको मृत्यु भएको विषय गम्भीर रहेको बताए। त्यसमा छानबिन भइरहेको र सत्यत्थ्य आउन समय लाग्ने उनले बताए।
भदौ २३-२४ को अवस्था र अहिलेको परिस्थित एउटै नभएको पनि उनले बताए।
'हिजो के परिस्थितलाई लिएर आन्दोलन भएको हो र आज के भएको हो भन्ने परिस्थिति उस्तै होइन,' उनले भने, 'यो विषयमा सुरक्षा निकायले जिम्मेवार हुनुपर्छ। घटना के भएको सत्यतथ्य आउन समय लाग्छ।'
सभापति लामिछानेले संवेदनशील परिस्थितिमा दलहरू जिम्मेवार भएर एकठाउँ बसेर धारणा राख्ने र सरकारलाई आवश्यक परे ध्यानाकर्षण गराउने परम्परालाई निरन्तरता दिनुपर्ने बताए।
'विगतमा पनि एकठाउँ उभिएर दलहरूले धारणा बनाउने, आवश्यक परे सरकारलाई ध्यानाकर्षण गराउने परम्परालाई हामीले निरन्तरता दिनुपर्छ,' उनले भने, 'राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छ। तर यस किसिमका घटना हुँदा सबै एकठाउँ उभिनुपर्छ भन्ने कुराको महसुस हामी सबैले गर्यौं। यो एउटा सन्देश पनि हो।'
उनले सबै राजनीतिक दलका तर्फबाट संयुक्त अपिल आउने जानकारी पनि दिए।
'राजनीतिक दलहरूका तर्फबाट एउटा संयुक्त अपिल पनि चाँडै आउँदै छ। त्यो अपिलले पनि धेरै कुरा साथीहरूलाई बताउने छ,' उनले भने।
त्यस्तै, सामाजिक सद्भाव नभड्कियोस् भन्नेतर्फ सञ्चारकर्मीहरूलाई समेत संवेदनशील हुन र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न लामिछानेले आग्रह गरे।