नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।
कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
पदाधिकारी र केन्द्रीय सदस्यसहित कार्यकर्ताहरू सानेपास्थित कार्यालयमा जम्मा भएका छन्।
तर कांग्रेस संस्थापनइतर पक्षका नेताहरू भने केन्द्रीय कार्यालय सानेपामा श्रेष्ठलाई श्रद्धाञ्जली दिन आएनन्।
एक जना केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार अरू पार्टीका नेताहरू श्रेष्ठलाई श्रद्धाञ्जली दिन आए पनि आफ्नै पार्टीका नेताहरू भने देखिएनन्। रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका थिए।
‘निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित उहाँले नेतृत्व गर्नुभएको समूहका नेताहरू नेता श्रेष्ठलाई श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय सानेपामा आउनुभएन,’ ती केन्द्रीय सदस्यले भने, ‘कतिपय नेताहरूले अस्पतालबाट शव घर लगेपछि त्यहीँ गएर श्रद्धाञ्जली पनि दिनुभएको रहेछ, फोटो फेसबुकमा राख्नुभएको देखियो। केन्द्रीय कार्यालय आउन उहाँहरूलाई केले छेकेछ?’
निवर्तमान प्रवक्ता प्रकाशशरण महतले श्रेष्ठलाई उनकै निवासमा पुगेर श्रद्धाञ्जली दिएको तस्बिर राखेका छन्। उक्त तस्बिरमा नेताहरू शशांक कोइराला, एनपी साउद, दीपक खड्कालगायत नेताहरू देखिन्छन्।
नेता शेखर कोइराला पनि श्रेष्ठलाई श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय नआएको ती केन्द्रीय सदस्यले बताए।
नेता मीनबहादुर विश्वकर्माले भने आफू पशुपति आर्यघाट गइरहेको बताए। ‘हामी पशुपति आर्यघाटतर्फ गइरहेका छौं, केही नेताहरू आज बिहान गोपालमान दाइको घरमा पुगेर पनि श्रद्धाञ्जली दिनुभएको छ, केही नेताहरू आर्यघाट आउनुहुन्छ, तीनतिर के जाने भनेर पार्टी कार्यालय नगएको हो कि!,’ उनले भने।
कांग्रेसमा गत पुसमा विशेष महाधिवेशन भएको थियो। तत्कालीन सभापति शेरबहादुर देउवासहित उनी पक्ष विशेष महाधिवेशन चाहँदैनथे। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो। विशेष महाधिवेशनलाई सर्वोच्चले मान्यता दिएको छ। तर अहिले देउवा पक्ष फेरि सर्वोच्चमा पुनरावलोकनका लागि गएका छन्। विशेष महाधिवेशनपछि कांग्रेसभित्र मतभेद छ, त्यो मतभेदको असर नेताको निधनमा श्रद्धाञ्जलीमा पनि देखिएको नेताहरूले चर्चा गरेका छन्।