सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले ११ वटा निर्णय गरेको छ।
महामन्त्री विपिन आचार्यले केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी गराएका हुन्।
१. समवेदना तथा सहानुभूति
सुनसरी लगायत जिल्लाका पछिल्ला घटनाक्रममा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्ने। साथै, घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने।
२. महाधिवेशनको समीक्षा
पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम महाधिवेशनका बहुआयामिक पक्षमा विस्तृत र निर्मम समीक्षा गरिएको छ। लोकतान्त्रिक अभ्यास क्रममा हरेक तहमा भएका कमी-कमजोरी स्वीकार गर्दै ती अनुभवबाट पाठ सिकेर सिँगो पार्टी पंक्तिलाई थप परिपक्व र सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको बृहत अध्ययन गर्ने।
३. पार्टी सचिवालय गठन
पार्टी सचिवालयमा सभापतिसहित निर्वाचित पदाधिकारीहरू उपसभापतिद्वय स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन आचार्य तथा सह-महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहने छन्।
४. वरिष्ठ नेतामा बालेन शाहको मनोनयन
सभापति रवि लामिछानेको प्रस्तावमा प्रधानमन्त्री बालेन शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको छ।
५. सांगठनिक दस्तावेजहरू पारित
साउन १८ गते साँझ ५ बजेसम्म केन्द्रीय समिति सदस्यहरूबाट प्राप्त हुने संशोधन सुझावहरूलाई समेट्ने गरी निम्न कार्यविधि र दस्तावेज पारित गरिएको छ-
(क ) बैठक सञ्चालन कार्यविधि, २०८३
(ख) सदस्यता सम्बन्धी कार्यविधि, २०८३
(ग) सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट, २०८३
(घ) विभाग सम्बन्धी कार्यविधि, २०८३
६. विभागीय नेतृत्व छनोटमा कार्ययोजना माग
विभागको नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट आफूले नेतृत्व गर्न चाहेको विभागको स्पष्ट लक्ष्य र रूपरेखासहितको ६ महिने कार्ययोजना माग गरिएको छ।
७. मन्त्रीहरूसँग प्रत्यक्ष संवाद
महिनाको कम्तिमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने। सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वय प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ।
८. 'क्यान्डिडेट क्लब' घोषणा
आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो विन्दुका रूपमा आगामी भदौ १ देखि 'क्यान्डिडेट क्लब' का लागि आवेदन खुल्ला गर्ने निर्णय गरिएको छ।
९. अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
राष्ट्रिय स्वतन्त्र पार्टीले 'अन्तर्राष्ट्रिय युवा दिवस २०२६' लाई युवा जागरण र रूपान्तरणको उत्सवका रूपमा भव्यताका साथ मनाउने निर्णय गरेको छ। यस कार्यक्रमको आयोजक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य तथा पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको छ।
१०. नागरिक सहजीकरण
नागरिकका समस्या र गुनासो प्रत्यक्ष रूपमा सुन्न र समाधानका लागि आवश्यक सहजीकरण गर्न हरेक तहका पार्टी कार्यालयहरूमा अनिवार्य उपस्थिति रहने संयन्त्र निर्माण गर्ने निर्देश गरिएको छ। यस अनुसार पहिलो चरणमा नागरिकको सेवाका लागि केन्द्रीय कार्यालयमा हरेक दिन दुई जना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुई जना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एक जना जिल्ला समिति सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।
११. आत्महत्या र आत्मदाह सम्बन्धमा सामाजिक सञ्जाल निर्देशिका
सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै, पार्टीको हरेक तह र तप्कामा रहेका सदस्यलाई आत्महत्या र आत्मदाह जस्ता अत्यन्तै दुःखद घटना, समाचार वा जानकारीहरू आफ्ना कुनै पनि सामाजिक सञ्जालहरूमा सेयर वा सम्प्रेषण नगर्न केन्द्रीय समितिले निर्देशन जारी गरेको छ।