अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनबाट आयात हुने नयाँ ह्युमनोइड (मानवजस्तै) र चार खुट्टे रोबोट (क्वाड्रुपेड) तथा पावर इन्भर्टरमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकाको संघीय सञ्चार आयोग (एफसिसी) ले अब चीनमा बनेका नयाँ ह्युमनोइड र क्वाड्रुपेड रोबोट तथा विद्युत् ग्रिड र डाटा सेन्टरलाई नवीकरणीय ऊर्जा र ब्याट्रीसँग जोड्ने पावर इन्भर्टर आयातमा रोक लगाएको हो।
कृत्रिम बुद्धिमत्ता (एआई)बाट सम्भावित राष्ट्रिय सुरक्षा जोखिम र महत्त्वपूर्ण उद्योगहरूलाई अमेरिकामै विकास गर्ने उद्देश्यका साथ अमेरिकाले यो कदम चालेको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।
'यी उपकरणहरूले आपूर्ति शृंखलामा कमजोरी सिर्जना गर्न सक्छन्, जसले अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा असर पुर्याउन सक्छ। साथै अमेरिकी महत्त्वपूर्ण पूर्वाधारमा साइबर सुरक्षा जोखिम पनि उत्पन्न हुन सक्छ,' एफसिसीले विज्ञप्तीमा भनेको छ।
अमेरिकाले एआई बनाउन चाहिने सामग्री चीनबाट आपूर्ति गर्दा हुन सक्ने अवरोध, डाटा चोरी र साइबर आक्रमणबाट सुरक्षित राख्न यो कदम चालेको हो।
वासिङ्टनस्थित चिनियाँ दूतावासले चिनियाँ कम्पनीहरूको बदनाम गर्न खोजिएको आरोप लगाएको छ। दूतावासले प्रतिबन्धको धम्की दिन बन्द गर्न पनि आग्रह गरेको छ।
साथै चीनको हितमा गम्भीर असर पार्ने कुनै पनि कदमविरुद्ध बेइजिङले आवश्यक सबै प्रतिकारात्मक उपाय अपनाउने चेतावनी पनि दूतावासले दिएको छ।
विश्लेषकहरूले एआई प्रविधिले सञ्चालित ह्युमनोइड रोबोट आगामी वर्षहरूमा उद्योग र उपभोक्ता दुवै क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने अनुमान छ।
त्यसैगरी अमेरिकामा तीव्र गतिमा निर्माण भइरहेका डेटा सेन्टरका लागि भरपर्दो पावर इन्भर्टर अत्यावश्यक मानिन्छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसअघि चिनियाँ एआई कम्पनीहरूले अमेरिकी बौद्धिक सम्पत्ति चोरी गरेको पुष्टि भएमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका थिए।
अमेरिकी अधिकारीहरू चीनमाथिको निर्भरता दुर्लभ खनिज (रेयर अर्थ) जस्तै अर्को रणनीतिक क्षेत्रमा नदोहोरियोस् भन्ने चाहन्छन्।
प्रविधि उद्योगका लागि अत्यावश्यक खनिजको आपूर्तिमा चीनको प्रभुत्व रहेकाले बेइजिङले त्यसलाई कूटनीतिक दबाबका रूपमा प्रयोग गर्दै आएको अमेरिकी पक्षको बुझाइ छ।
चीनमाथि प्रतिबन्ध लगाएर गैरचिनियाँ आपूर्तिकर्ताहरूलाई छुट दिने तयारी पनि एफसिसीले गरिरिहेको छ। अहिले विदेशी ड्रोन र राउटरमा धेरै आपूर्तिकर्ताहरूलाई छुट दिइएको पनि रोयटर्सले जनाएको छ।
चीनमाथि लगाइने उक्त प्रतिबन्ध हालसम्म बजारमा नआएका नयाँ मोडेलमा मात्र लागू हुनेछ। यद्यपि एफसीसीसँग आवश्यक परे अमेरिकामा बिक्रीका लागि यसअघि स्वीकृति पाइसकेका मोडेलको अनुमति पनि रद्द गर्ने अधिकार छ।
यो प्रतिबन्धको सबैभन्दा ठूलो असर चीनको रोबोट निर्माता कम्पनी युनिट्रीलाई पर्ने देखिएको छ।
काउन्टरपोइन्ट रिसर्चका अनुसार विश्व ह्युमनोइड रोबोट बजारको करिब पाँचमध्ये एक हिस्सा युनिट्रीको नियन्त्रणमा छ। कम्पनी यस क्षेत्रमा अग्रणी तीन चिनियाँ कम्पनीमध्ये एक हो।
हालै अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले युनिट्रीलाई चिनियाँ सेनासँग सम्बन्धित कम्पनीहरूको सूचीमा राखेको थियो।
युनिट्रीले हालै अमेरिकी चिप निर्माता एनभिडियासँग सहकार्य गर्दै ब्ल्याकवेल एआई चिप प्रयोग गरी आफ्ना रोबोट सञ्चालन गर्ने सम्झौता गरेको थियो। एनभिडियाले भने युनिट्रीका रोबोटबाट संकलित डेटा अमेरिकामै रहने र उसका प्रमुख ग्राहक अमेरिकी विश्वविद्यालय तथा अनुसन्धान संस्था रहेको बताएको छ।
अमेरिकामा चीनप्रति कडा दृष्टिकोण राख्ने समूहहरूले यस्ता रोबोटले अमेरिकी उद्योगबाट संवेदनशील डाटा संकलन गरी बेइजिङ पठाउन सक्ने वा आवश्यक पूर्वाधारमा अवरोध सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन्।
एफसीसीले पनि रोबोटले अमेरिकी नागरिकमाथि निगरानी गर्न, विदेशी गुप्तचर निकायको क्षमता बढाउन वा टाढैबाट रोबोट नियन्त्रण गर्न सहयोग पुग्ने खालको डाटा संकलन गर्न सक्ने जनाएको छ।
अमेरिकी प्रतिनिधिसभाको चीनसम्बन्धी विशेष समितिका अध्यक्ष जोन मुलेनारले एफसीसीको निर्णयले देशको सुरक्षा गर्ने र अमेरिकी रोबोटिक्स उद्योगलाई बलियो बनाउने बताएका छन्।
इन्भर्टर बजारमा पनि चीनको दबदबा
चीन विश्वकै सबैभन्दा ठूलो पावर इन्भर्टर उत्पादक देश हो।
सनग्रो र हुवावे यस क्षेत्रका प्रमुख कम्पनी हुन्। अमेरिकाले यसअघि नै हुवावेमाथि विभिन्न प्रतिबन्ध लगाइसकेको छ।
बेइजिङले कम मूल्यमा उत्पादन उपलब्ध गराएर पश्चिमी बजारमा आफ्नो हिस्सा बढाउँदै आएको छ।
रोयटर्सका अनुसार युरोपमा उठेका सुरक्षा चिन्ता र मालवेयर जडान हुन सक्ने जोखिमपछि एफसीसीले चिनियाँ इन्भर्टरमाथि प्रतिबन्ध लगाउने तयारी अघि बढाएको थियो।
अमेरिकी अधिकारीहरू सन् २०२३ मा सार्वजनिक भएको भोल्ट टाइफुन नामक चिनियाँ साइबर आक्रमणजस्तो घटना दोहोरिन नदिन पनि सतर्क छन्।
उक्त अभियानमा निजी राउटर नियन्त्रण गरेर अमेरिकी महत्त्वपूर्ण पूर्वाधारमाथि साइबर आक्रमण लुकाउने प्रयास गरिएको अमेरिकाले आरोप लगाएको थियो।
यसअघि नै अमेरिकी रक्षा मन्त्रालयलाई चिनियाँ कम्पनीले उत्पादन गरेका सौर्य सेल, मोड्युल र इन्भर्टर खरिद गर्न प्रतिबन्ध लगाइएको छ। युनिट्री, सन्ग्रो र हुवावेले भने यो निर्णयबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।