राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ।
बिहीबार बिहान साढे ११ बजे प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागिएको हो।
बैठकमा पछिल्लो समयमा सुनसरी लगायत जिल्लामा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ।
सुनसरीको कप्तानगन्जमा दुई पक्षबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको थियो। त्यस घटना पछि सुनसरी केही दिनदेखि अशान्त छ। यही घटनालाई लिएर गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा मंगलबार केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाएको थियो।
उक्त बैठकमा घटनालाई कसरी शान्त बनाउने, किन गोली प्रयोग भयो, लगायतका विविध विषयमा छलफल भएको थियो।
समिति स्रोतका अनुसार सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री गुरूङले किन गोली प्रहार गरेको भनेर असन्तुष्टि जनाएका थिए। त्यस घटनामा छानबिन गर्नका लागि समिति समेत बनाएर छानबिन अघि बढिसकेको छ।
यता सुनसरीको घटनालाई साम्य पार्नका लागि बल प्रयोग गरी नहुने सुझाव सुरक्षा निकायका प्रमुखहरूले दिएका थिए। त्यसको सट्टामा धार्मिक अगुवा, राजनीतिक व्यक्तित्वहरूसँग छलफल गरी साम्य पार्नुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले बुधबारमात्रै दुई वटा सुरक्षा निकायका प्रमुखहरूसँग पनि भेटेका थिए। नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आइजिपी नारायण दत्त पौडेलसँग छुट्टाछुट्टै भेटेर ब्रिफिङ लिएका थिए।
ब्रिफिङ क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएको उनको सचिवालयले बताएको छ।