प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहलाई देश चलाउन नसक्ने भए हात उठाउन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले सरकार काम बिगार्नुको सट्टा सक्दिनँ भन्न पनि पाइने बताएका हुन्।
‘यो दुनियामा काम बिगार्नुको सट्टामा म सक्दिनँ भन्न पाइन्छ। यदी प्रधानमन्त्रीज्यूले अहिलेको सरकारले देश चलाउन नसक्ने हो भने हात उठाए हुन्छ। त्यो पाइन्छ,’ उनले भने, ‘रास्वपा दुई तिहाइको नजिक छ। कोही न कोहीले देश लिड गर्छ। तर अभिभावकबिहीन भएर बस्न पाइन्नँ। टुहुरो बनाउन पाइँदैन। कि त निस्किन पर्यो कि त हात ठड्याउनुपर्यो भन्ने माग छ।’
उनले देशमा जताततै हिंसा भएको अवस्थामा सरकार अन्धाकार कोठामा लाइभ हेरेर बसिरहेको आरोप लगाए।
‘देशमा आज जताततै हिंसा हुने अवस्था छ। तर सरकार बेखबर छ। सरकार कहाँ छ भनेर म सोध्न चाहन्छु। सायद यो लाइभ हेरिरहनुभएको छ भने हात हल्लाएर सोध्न चाहन्छु,’ उनले भने, ‘सरकार अब तपाईं निस्किनुपर्छ। भित्र अन्धकारमा बसेर, दुरबिन लगाएर हेरेको देश ठीक छ भनेर भन्न पाउनुहुन्न। किनभने दिनदहाडै गोली चलेको छ, हत्या हिंसा बढेको छ। देशमा संकट हुने अवस्था छ तर सरकार बेखबर छ।’
उनले रास्वपाका सभापति रवि लामिछानेलाई सर्वदलीय बैठक बोलाएर पहलकदमी लिएकोमा धन्यवाद समेत दिए। तर त्यतिले मात्रै नपुग्नर् उनको भनाइ छ।
‘यस्तो बेला सत्ता पक्ष र प्रतिपक्ष नभनेर हामी सबै जना सांसदहरू पार्टीहरू एक ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘सरकारले पहल गर्नुपर्ने बेलामा सरकार आफै कालो कोठाभित्र लुकेर चियाएर हेरेको जस्तो महसुस भइरहेको छ। त्यसैकारण निस्किन अनुरोध गर्न चाहन्छु। बल प्रयोग गरेर समस्याको समाधान हुँदैन। विभिन्न राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने बल प्रयोग गरेपछिको परिणाम के हुन्छ भन्ने यहाँहरूलाई थाहै छ।’
उनले देशबासीहरूलाई पनि संयमता अपनाउन अनुरोध गरेका छन्।
‘म सबै देशबासीहरूलाई अनुरोध गर्न चाहन्छौं। हामी सयौं थुंगा फुलका हामी एउटै माला नेपाली, हिमाल पहाड तराईं कोही छैनौं पराइ। पूर्वमेची देखि पश्चिम महाकालीसम्मका सबै धार्मिक संघ संस्थालाई अनुरोध पनि गर्न चाहन्छु। सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनुहुँदैन। हामी मुर्ख भयौं भने, हामीहामी लड्यौं भने हाम्रै दाजुभाइ दिदीबहिनीहरू हाम्रै भाइभतिजाहरू मर्ने हो। हामी संयमित हौं,’ उनले भने।