तुलसीपुरमा मोटरसाइकलमा आएका युवाले स्कुल बस रोकेर एक विद्यार्थीमाथि खुकुरी प्रहार गरी फरार भएका छन्।
तुलसीपुरस्थित ग्रेट अरनिको माविका विद्यार्थी छोड्न जाँदै गरेको बसलाई तुलसीपुर–८ गहते खोलामा रोकेर मोटरसाइकलमा आएका दुई युवाले बसभित्र प्रवेश गरी एक जना विद्यार्थीमाथि खुकुरी प्रहार गरी फरार भएका हुन्।
विद्यालयका प्रिन्सिपल विष्णु देवकोटाका अनुसार कक्षा ११ मा अध्ययनरत नयन वलीमाथि मोटरसाइकलमा आएका दुई युवाले बस रोकेर भित्र प्रवेश गरी खुकुरीले प्रहार गरेका थिए।
बसका चालकले बस रोकेर आक्रमणमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरू भागेको प्रिन्सिपल देवकोटाले बताए।
बिहानी कक्षापछि घर फर्किंदै गरेका तुलसीपुर–१ भमकेतिरबाट सञ्चालन हुने बसका विद्यार्थी सवार वलीमाथि आक्रमण गरेपछि उनीहरू भागेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरले खुकुरी प्रहार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताएको छ।
पुरानो रिसिइबीका कारण वलीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ।