सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भाव भड्काउने र घृणास्पद अभिव्यक्ति (हेट स्पिच) दिनेहरूलाई तत्काल पहिचान गरी कानुनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अन्सारीले पवित्र धार्मिक शब्द र नाराहरूलाई राजनीतिक स्वार्थ र विभाजनका लागि प्रयोग गरिनु दुःखद भएको बताए।
विभिन्न धर्मका पवित्र नाराहरूको गलत प्रयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, 'करोडौं मानिसहरूले आफ्नो ईश्वरप्रति देखाउने भक्ति, करूणा र आस्थाका पवित्र शब्दहरूलाई आज हाम्रो समाजमा जात, धर्म र समुदायबीच विभाजन ल्याउन र राजनीतिक रोटी सेक्न प्रयोग गरिएको छ।'
कुनै पनि धर्म वा सम्प्रदायका नाममा हुने हिंसाले सोही धर्मको मूल मर्म र सन्देशको अपमान गर्ने उनको भनाइ थियो। 'जय श्रीराम' भन्दै हिंसामा उत्रिनेले श्रीरामको मर्यादा र 'अल्लाहू अकबर' भन्दै आक्रमण गर्नेले इस्लामको शान्तिको सन्देश बिर्सिने गरेको उल्लेख गर्दै उनले कुनै पनि धर्मले हिंसा र घृणाको वकालत नगर्ने बताए।
नेपाल बहुजातीय र बहुधार्मिक देश भएको र यहाँको धार्मिक सहिष्णुता ऐतिहासिक विरासत भएको उल्लेख गर्दै उनले घृणात्मक अभिव्यक्तिकै कारण विश्वका धेरै देशहरूमा साम्प्रदायिक हिंसा र मानव अधिकारको हनन भएको दृष्टान्त दिए।
'युरोप, बोस्निया, रूवान्डा, भारत र श्रीलंकाजस्ता देशहरूमा घृणात्मक अभिव्यक्तिकै कारण ठूला हिंसा र मानवअधिकारको चिहान बनेका इतिहास छन्,' उनले भने, 'नेपाल र विशेषगरी मधेशलाई त्यस्तै साम्प्रदायिक हिंसातर्फ धकेल्ने प्रयास भइरहेकाले समयमै सतर्क हुनुपर्छ।'
साम्प्रदायिक हिंसाको सुरूआत गोली चलेर नभई घृणात्मक अभिव्यक्तिबाटै हुने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न राज्यले सूक्ष्म निगरानी बढाउनुपर्नेमा उनले जोड दिए।
'सामाजिक सञ्जाल, मिडिया वा नेताहरूकै मुखबाट किन नहोस्— जहाँबाट घृणात्मक अभिव्यक्ति आइरहेका छन्, ती पात्रहरूलाई हरेक जिल्ला स्तरबाट पहिचान गरी सजायको दायरामा ल्याउनुपर्छ,' उनले भने।
साथै, समाजमा रोहिंग्या वा बंगलादेशी नागरिकका नाममा कृत्रिम डर पैदा गरेर देश विभाजित गर्ने दुषप्रयास भइरहेको भन्दै उनले त्यस्ता प्रवृत्तिको निष्पक्ष छानबिन हुनुपर्ने बताए।
नेपालीहरूको धर्म र आस्था फरक भए पनि नागरिकता र मानवता एउटै भएकाले साम्प्रदायिकता फैलाउने जो-कोही कानुनको कठघरामा उभिनुपर्ने उनको भनाइ थियो।