सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस र कोशी प्रदेशमा सद्भावना अभिवृद्धिका लागि सांसदहरूको टोली पठाउने भएको छ।
मधेस र कोशी प्रदेशका सांसदहरू रहने टोलीमा विश्वराज पोखरेल संयोजक र रहबर अन्सारी सह-संयोजक तोकिएको छ।
अन्सारीका अनुसार अरू सांसद को को जाने भन्ने तय हुन बाँकी छ।
'हाम्रो टोलीमा को को जाने भन्ने तय गर्न बाँकी छ। तर यो टोलीले सबै ठाउँमा गएर स्थानीयलाई भेट्ने र सद्भावनाका लागि काम गर्ने भन्ने छ,' उनले सेतोपाटीसँग भने।
उनका अनुसार सकेसम्म आ-आफ्नो क्षेत्र फर्केर सद्भावनाका लागि काम गर्न सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य सहित पार्टी नेतृत्व, कोशी र मधेस प्रदेशका सांसदहरूको छलफलले निष्कर्ष निकालेको हो।
उक्त छलफलमा सभापति लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूलाई सद्भाव अभिबृद्धि , सहिष्णुता प्रवर्द्धन र स्थिति सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
बुधबार अपराह्न पार्टी कार्यालयमा कोशी र मधेस प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्।
लामिछानले सांसदहरूलाई आ-आफ्नो निर्वाचन क्षेत्र गएर सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धन र स्थिति सामान्यीकरणका लागि समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको संसदीय दलका सचेतक प्रकाशचन्त्र परियारले जानकारी दिए।
कोशी प्रदेशकै अर्का एक सांसदका अनुसार काठमाडौंमा तत्काल गर्नुपर्ने काम नहुने वा जान सम्भव हुने सांसदहरू आ-आफ्नो क्षेत्रमा गएर सद्भावनाका लागि काम गर्ने निष्कर्ष पनि छलफलले निकालेको छ।
'कोशी र मधेस प्रदेशका सांसदहरू सक्ने जति आ-आफ्नो क्षेत्रमा गएर संवेदनशील भएर काम गरौं भन्ने कुरा भयो,' ती सांसदले भने, 'सबैलाई हाम्रो सभ्यता दंगा गर्ने, झगडा गर्ने भन्दा पनि मिलेर बस्ने हो भनेर सम्झाऊँ भन्ने कुरा भएको छ।'
कोशी र मधेस प्रदेशका सांसदहरूसँग सभापति लामिछाने, महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली लगायत नेताहरूले छलफल गरेका थिए।
बुधबार अपराह्न ४ बजेदेखि बसेको छलफल दुई घन्टा चलेको थियो।