नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तले शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रमुख निर्वाचन आयुक्तलाई प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराएका थिए भने निर्वाचन आयुक्तहरूलाई प्रमुख निर्वाचन आयुक्तले शपथ खुवाएका थिए।
संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, रिक्त रहेको निर्वाचन आयुक्त पदमा राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यसपछि संसदीय सुनुवाइ समितिमा उनीहरूको सुनुवाइ भएको थियो। सुनुवाइ पश्चात समितिले उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।