सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन्।
जसपा नेपालका महन्थ ठाकुर, उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो लगायत नेताहरूसँग लामिछानेले देशमा देखिएको वर्तमान समस्याको निकासका लागि छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ।
यसअघि मधेस केन्द्रित चार दलले संयम र सद्भाव कायम गर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्।
जसपा नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमतका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले ८ बुँदे विज्ञप्ति जारी गरेका हुन्।
उनीहरूले सबै घटनाको छानबिनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गरेका छन्।
साथै, नागरिकहरूलाई संयम र सद्भाव कायम राख्न आग्रह गरेका छन्। घृणा वा उत्तेजनाले समाजलाई थप विभाजित बनाउने भएकाले सबै सत्य र कानुनको पक्षमा उभिन उनीहरूको आग्रह छ।
पछिल्ला घटनाहरूलाई लक्ष्य गर्दै उनीहरूले मधेसलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको आशंका पनि गरेका छन्।