सुनसरी लगायत नेपालका अन्य स्थानमा हालै भएका हिंसात्मक घटनाप्रति बुटवलमा क्रियाशील राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
बिहीबार बुटवलमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सामूहिक बैठकले सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेको छ।
कुनै पनि प्रकारका हिंसा, द्वेष तथा जातीय वा साम्प्रदायिक तनाव सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने भन्दै उनीहरूले बुटवलवासी नागरिकसँग सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
'हामी सबै पक्षलाई संयमता अपनाउन, कानुनको सम्मान गर्न तथा सामाजिक, जातीय र धार्मिक सद्भाव कायम राख्न हार्दिक अपिल गर्छौं। बुटवल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सहर भएकाले यहाँको सामाजिक एकता र सद्भाव अझ सुदृढ बनाउन हामी सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गरौं,' राजनीतिक दलहरूले गरेको सामूहिक अपिलमा भनिएको छ।
सामाजिक सद्भाव, सहिष्णुता र एकता नै नेपालीको साझा शक्ति भएको भन्दै उनीहरूले पूर्वी मधेसका विभिन्न जिल्लामा भएका घटनाको सत्यतथ्य, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायसँग माग गरेका छन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राजेश्वर पाण्डेय (राजन), नेपाली कांग्रेसका उपसभापति ज्योति भण्डारी, नेकपा एमालेका अध्यक्ष शोभाकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक महेन्द्र भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लक्ष्मणप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका सचिव गंगालाल सापकोटा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक दीपक पौडेल सहभागी थिए।
त्यस्तै, नेकपा माओवादीका इन्चार्ज विष्णुप्रसाद वेलवासे, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रतिनिधि मानबहादुर कुँवर, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष कर्ण भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष दीपक गुरुङ र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रतिनिधि तिलक गिरी पनि सहभागी थिए।