नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्जबाट सुरू हिंसात्मक घटनापछि पर्सा, धनुषा र सिरहा लगायत मधेसका विभिन्न जिल्लामा फैलिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले घटनामा जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवसहित नेपाली नागरिकहरूको ज्यान गएको तथा दर्जनौं घाइते भएको उल्लेख गर्दै यसलाई अत्यन्त दुःखद घटना बताएका छन्।
बिहीबार भिडिओ सन्देश जारी गर्दै थापाले यस्तो संवेदनशील अवस्थामा सरकारले प्रभावकारी नेतृत्व दिन नसकेको आरोप लगाए।
तनाव र कर्फ्युबीच नागरिकहरूले सरकार खोजे पनि सरकार र विशेषगरी गृह प्रशासन जिम्मेवार ढंगले उपस्थित हुन नसकेको उनले बताए।
'यस्तो तनावबीच, कर्फ्युबीच सरकार खोज्दै गर्दा हामीले भेटेनौं। सरकार र खासगरी गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो, त्यसले हामीलाई झन् चिन्तित बनाएको छ,' उनले भने।
प्रधानमन्त्रीले सम्बोधनमार्फत गृह मन्त्रालयअन्तर्गत समिति बनाएर छानबिन गरिने बताए पनि थापाले असन्तुष्टि जनाए। गृह मन्त्रालयकै समिति बनाएर घटना टुंग्याउने प्रयास पर्याप्त नहुने भन्दै उनले स्वतन्त्र र विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरे।
'यस्तो झारो टार्ने समितिले हुँदैन। गल्ती गर्नेले सजाय पाउने र परिस्थिति यहाँसम्म किन पुग्यो भन्ने यथार्थ बाहिर ल्याउने गरी विश्वसनीय न्यायिक छानबिन समिति बनाउनुपर्छ,' उनले भने।
यसअघि पनि सरकारले विभिन्न घटनामा आश्वासन दिए पनि प्रभावकारी छानबिन र अनुसन्धान हुन नसकेको उल्लेख गर्दै उनले यसपटक दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन गहिरो अनुसन्धान आवश्यक रहेको बताए।
थापाले घटनाको जिम्मेवारी संघीय सरकारमा मात्र सीमित नरहेको भन्दै मधेस प्रदेश सरकारको पनि समान जिम्मेवारी रहेको उल्लेख गरे।
आफूले मधेस प्रदेशका मुख्यमन्त्रीसँग कुराकानी गरेर थप सक्रिय पहल गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले प्रभावित जिल्लाका स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिसँग पनि दिनभर संवाद गरेको बताए।
स्थानीय तहका जनप्रतिनिधिको भूमिका अहिले सबभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले पनि शान्ति स्थापनामा अग्रसर हुनुपर्नेमा जोड दिए।
कांग्रेसका सबै नेता-कार्यकर्तालाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र बन्धुत्व कायम राख्न सक्रिय हुन निर्देशन दिँदै हिंसा, उत्तेजना वा मिथ्या सूचना फैलाउने कार्यमा संलग्न भए त्यो पार्टीलाई स्वीकार्य नहुने चेतावनी दिए।
'म हिंसामा पनि सहभागी हुन्छु र नेपाली कांग्रेसको सदस्य पनि भइराखेको छु भन्ने कुरा स्वीकार्य हुँदैन,' उनले भने।
विशेषगरी युवापुस्तालाई लक्ष्य गर्दै थापाले नेपालले अर्को हिंसाको चपेटा थेग्न नसक्ने बताए। उनले सामाजिक सञ्जाल र सार्वजनिक स्थान दुवैमा भ्रम, उत्तेजना र घृणा फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरे।
'अब हामीले अर्को एउटा हिंसा थेग्न सक्दैनौं, अर्को आगो थेग्न सक्दैनौं। हिंसा र उत्तेजनाले हामीलाई कतै पनि पुर्याउँदैन,' उनले भने।
घटनामा ज्यान गुमाएका नागरिक, घाइतेहरू र सम्पत्तिमा भएको क्षतिको निष्पक्ष हिसाब हुनुपर्ने उल्लेख गर्दै उनले सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको भए त्यसको पनि जिम्मेवारी तय हुनुपर्ने र आगजनी तथा हिंसामा संलग्न व्यक्तिहरूले पनि कानुन अनुसार सजाय पाउनुपर्ने बताए।
थापाले अहिलेको संवेदनशील अवस्थाको फाइदा उठाएर समाजलाई विभाजित गर्न खोज्ने शक्तिहरूप्रति पनि सतर्क रहन आग्रह गरे।
'कहिलेकाहीँ हामी थाहै नपाई प्रयोग भइरहेका हुन्छौं। यही बेला आफ्नो स्वार्थको रोटी सेक्नेहरू विभिन्न तरिकाले हाम्रो बीचमा आउँछन्। तिनलाई चिन्नुपर्छ, पन्छाउनुपर्छ,' उनले भने।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र बन्धुत्व नेपालको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले सबै धर्मले मानवता, सहअस्तित्व र एकताको शिक्षा दिएको स्मरण गराए।
सरकारको भूमिकामाथि प्रश्न उठाउने र जबाफदेहिता माग्ने काम पछि पनि गर्न सकिने र अहिलेको पहिलो प्राथमिकता शान्ति कायम गर्नु भएको उनले बताएका छन्।
भिडिओ सन्देशको पूर्ण पाठ —
सुनसरीको देवानगन्ज पछाडि आज पर्सा, धनुषा, सिराहाका कयौं ठाउँहरूमा भएका तनावपूर्ण घटनाहरूले हामीलाई चिन्तित बनाएको छ। जयप्रकाश मेहता, ओमप्रकाश मेहता, गणेश यादव — तीन जना नेपाली नागरिकहरूको अनाहकमा ज्यान गएको छ। कयौं साथीहरू घाइते हुनुभएको छ।
यस्तो बेला तपाईं-हामी सबैले सरकारलाई खोज्ने रहेछौं, जुन स्वाभाविक पनि हो। तर यस्तो तनावका बीचमा, कर्फ्युका बीचमा सरकार खोज्दै गर्दा हामीले भेटेनौं। सरकार र खासगरी गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो, त्यसले हामीलाई झन् चिन्तित बनाएको छ।
भर्खरै सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधन हामीले सुन्यौं। सम्बोधनमा भनिएको छ — जसले लापरबाही गरेको छ, उसलाई कारबाही हुन्छ र यसका निम्ति गृह मन्त्रालयमा हामीले एउटा समिति बनाएका छौं। यस्तो झारो टार्ने समितिले हुँदैन। एउटा विश्वसनीय न्यायिक छानबिन समिति बनाउनुपर्छ। किनभने, योभन्दा पहिला पनि हामीले देखेका छौं — एउटा त सरकारले कतिपय कुराहरू भन्छ, आश्वासन दिन्छ, पूरा गर्दैन। दोस्रो, यस्ता सन्दर्भहरूमा गहिराइमा गएर छानबिन-अनुसन्धान हुँदैन।
त्यसैले गल्ती गर्नेले सजाय पाउने गरी र विषयवस्तु यस्तो अवस्थामा किन पुग्यो भन्ने कुरा भोलिका दिनमा हामीलाई थाहा पाउन पनि एउटा विश्वसनीय आयोग बनाउनुपर्छ, समिति बनाउनुपर्छ। यसका निम्ति जहाँ लड्नुपर्ने हो, त्यो लडाइँ हामी लड्छौं।
तर यहाँ विषय संघीय सरकारको मात्र होइन, विषय प्रदेश सरकारको पनि छ। प्रदेश सरकारको आफ्नै जिम्मेवारी छ। यही कुरालाई लिएर केही समयअघि मैले मधेस प्रदेशका मुख्यमन्त्रीसँग कुराकानी गरेँ, केही कामहरू भइरहेको कुराको जानकारी गराउनुभयो।
यतिले पुग्दैन, थप पहलकदमी तपाईंले लिनुपर्छ भनेर उहाँलाई भनेको छु। सुनसरी र अरू प्रभावित जिल्लाहरू, खासगरी मधेस प्रदेशका जिल्लाहरूअन्तर्गत रहेका थुप्रै गाउँपालिका, नगरपालिकाका प्रमुखहरू र कतिपय ठाउँमा त वडाध्यक्षहरूसँग पनि आज दिनभरि मैले प्रत्यक्ष संवाद गरेको छु।
उहाँहरूलाई मैले भनेको छु, यो बेला तपाईंहरूसँग बडो ठूलो अपेक्षा छ, भोलि हामी अझ बृहत् बैठकमार्फत सबै तहका साथीहरूका बीचमा यो कुराकानी पुर्याउने छौं। यो सरकारको मात्र होइन, हाम्रो पनि अझ थप जिम्मेवारीको कुरा छ, राजनीतिक दलहरूको पनि।
हामीले हाम्रा पार्टीका साथीहरूलाई भनिसकेका छौँ, फेरि म दोहोर्याएर भन्छु — नेपाली कांग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ, त्यहाँबाट सामाजिक सद्भावका निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईंले गर्ने हो, तपाईंले गर्नुपर्छ, गरिराख्नुभएको छ।
कोही कसैले पनि कुनै मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईंले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो 'अनएक्सेप्टेबल' हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु र नेपाली कांग्रेसको सदस्य पनि भइराखेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। यो बेला तपाईंले पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर देखाउनुपर्छ, तपाईंसँग मेरो यो अपेक्षा छ, तपाईंसँग मेरो अनुरोध पनि छ।
आज मैले साथीहरूसँग कुराकानी गर्दा मलाई के जानकारी भयो भने, थुप्रै युवा साथीहरू सडकमा आउनुभएको छ। म जेनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु — अब हामीले अर्को एउटा हिंसा थेग्न सक्दैनौं, हामीले अर्को आगो थेग्न सक्दैनौं। हिंसा र उत्तेजनाले हामीलाई कतै पनि पुर्याउँदैन। समस्याहरू भएका छन्। नागरिकहरूले, साथीहरूले ज्यान गुमाउनुभएको छ, आगलागी भएको छ, कति साथीहरू घाइते हुनुभएको छ; यो एक-एकको हिसाबकिताब हामीले गर्नुपर्छ।
बल बढी प्रयोग भएको ठाउँमा बल बढी प्रयोग जसले गरेको छ, उसले यसको जिम्मा लिनैपर्छ, तपाईं-हामी मिलेर जिम्मेवारी लिन लगाएरै छाड्ने हो। आगलागी जसले गरेको छ, उसले पनि त्यसको सजाय पाउनुपर्छ।
तर यसका निम्ति वातावरण बनाउने काम सबभन्दा बढी तपाईंको जिम्मामा छ। त्यसैले मेरो तपाईंहरूसँग अनुरोध छ — यो बेला फिजिकल्ली पनि र सोसल मिडियामा पनि कुनै पनि खालको भ्रम फैलाउने काम, उत्तेजना फैलाउने काम, हिंसालाई बढावा दिने काम, कसैलाई प्रभोक गर्ने काम तपाईंले नगर्दिनुहोला।
तपाईंहरूबाट सबभन्दा बढी अपेक्षा हामीले गरेका छौं। तपाईंहरूले सम्हाल्न सक्नुहुन्छ। किनकि, मैले योभन्दा अगाडि उत्तेजनामा आएका युवाहरू मात्र होइन, सम्हाल्न सक्ने तागत भएका युवाहरू पनि देखेको छु। तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं, म तपाईंहरू सबैलाई अनुरोध गर्न चाहन्छु — यो बेला तपाईं-हामी सबै मिलेर यसलाई थाम्नुपर्ने छ, यसलाई बचाउनुपर्ने छ। त्यसपछि हामी समस्याको गहिराइमा पुगेर यसको जे-जे गर्नुपर्ने हो, त्यो सबै कुराहरू गरौंला। यसका निम्ति म तपाईंहरू सबैलाई अनुरोध गर्छु। तपाईंले ख्याल गर्नुपर्छ, थाहै नपाइकन हामी प्रयोग भइरहेका हुन्छौं कहिलेकाहीँ। यही बेला आफ्नो स्वार्थको रोटी सेक्नेहरू विभिन्न सोचका साथमा विभिन्न तरकिब लगाएर तपाईं-हाम्रो बीचमा आइरहेका हुन्छन्, तिनलाई चिन्नुपर्छ, तिनलाई पन्छाउनुपर्छ।
यसका निम्ति फेरि एकपटक शान्तिको वातावरण हामीले बनाउनैपर्ने छ। यसका लागि म तपाईंहरू सबैलाई अपिल गर्न चाहन्छु।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, बन्धुत्व — यी सबै हाम्रा अलौकिक पुँजी हुन्। हाम्रा सबै धर्मले यो कुरा हामीलाई सिकाएका छन्। कल्याण गर, मानवताको सेवा गर, मिलेर बस — यिनै कुराहरू सिकाएका हुन्छन्। कसैको पनि गलत कुरामा नलागौं। यो सद्भावलाई, सहिष्णुतालाई कायम राख्न तपाईंले तपाईंको ठाउँबाट, मैले मेरो ठाउँबाट, हामी सबैले आफ्नो ठाउँबाट कामहरू गरौं।
सरकारले आफ्नो ठाउँबाट गर्नुपर्ने काम गरिरहेको छैन, तपाईंलाई थाहा छ, मलाई थाहा छ; यसको हिसाबकिताब हामी गरौंला, हिसाबकिताब पनि मागौंला। तर यो बेला हिसाबकिताब माग्ने कुरालाई पनि केही समय थाती राखेर तपाईंले तपाईंको ड्युटी, मैले मेरो ड्युटी गर्नुपर्ने छ; किनकि सद्भाव हामीलाई चाहिएको छ, सहिष्णुता हामीलाई चाहिएको छ।
अर्को कसैले पनि अनाहकमा ज्यान गुमाउन नपरोस्, कसैको घर-सम्पत्ति आगलागीमा नजलोस्, हाम्रो बीचको बन्धुत्व कतै नटुटोस्। यसका निम्ति तपाईं-हामी सबै मिलेर प्रयास गरौं।
यही नै सबैलाई अनुरोध गर्न चाहन्छु, धन्यवाद। जय नेपाल।