प्रधानमन्त्री बालेन शाहले आज मधेसकेन्द्रित दलका नेताहरूसँग छलफल गरे।
सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको विषयमा छलफल केन्द्रित थियो।
छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउन, जसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, रास्वपा सांसद अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी रहेका थिए।
प्रधानमन्त्रीसँग सिंहदरबारमा छलफल गरेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले पत्रकारहरूसँग कुराकानी गरेका थिए।
सो क्रममा उनले आफूले प्रधानमन्त्रीलाई केही सुझाव दिएको बताए।
‘सुनसरीलगायत जिल्लाहरूमा देखा परेको घटना प्रहरी प्रशासनको बल प्रयोगले समाधान हुँदैन, संवादबाट हल गर्ने हो,’ उनले भने, ‘अन्तर धार्मिक संरचना बनाउन सकियो भने समस्या देखिए उक्त संरचनाले तत्काल छलफल गरी समाधान गर्न सक्छ।’
जिल्ला र पालिका तहमा यस्ता संरचना बनाउन सके राम्रो हुने उनले बताए।
अन्तर धार्मिक संरचनाको बैठक हरेक महिना बस्ने र देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने उनले बताए।
‘सुनसरीलगायत जिल्लामा देखिएका घटनालाई सरकारले छिटपुट घटनाका रूपमा लिन हुँदैन भनेर सुझाव दिएका छौं। यसपछि पनि निरन्तर यस्ता घटना हुन सक्छन् है भनेर अहिले नै समाधानका लागि तयार रहनुपर्छ,’ उनले भने।
उनले संघीय सरकारले पनि एउटा संरचना बनाउनुपर्ने बताए। केही घटना भएमा वार्ता गर्ने र माग पूरा गर्ने काम उक्त संरचनाले गर्न सक्ने पनि उनको भनाइ छ। ‘घटना भएको ठाउँमा जति दिन शव राख्यो उति त्यो घटना विकराल बन्दै जान्छ र अन्यत्र सर्छ,’ उनले भने।
उनले प्रहरीहरूलाई पनि तालिम दिनुपर्ने बताए। प्रहरी आक्रोशित हुँदा पनि घटनाले गम्भीर रूप लिन सक्ने उनको भनाइ छ। ‘धार्मिक संवेदनशीलताको विषयमा प्रहरीलाई पनि तालिम दिनुपर्छ, सबै जिल्लाका एसपीलाई बोलाएर यसबारे कुरा गर्नुहोस् भनेर सुझाव पनि दिएको छु,’ उनले भने।
साथै उनले प्रदेशहरूलाई अधिकार दिन पनि आग्रह गरेका थिए।
‘प्रदेशलाई अधिकार नदिएर पनि यस्ता घटना धेरै दिनसम्म रहने गर्यो, सिडिओले मुख्यमन्त्री टेर्दैन। प्रहरीलाई प्रदेश मातहत राख्यो र नेपाली सेनालाई समावेशी बनायो भने केही समाधान होला, यति धेरै सेना परिचालन भएको छ स्थानीय भाषा बुझ्ने सेना छैनन्, समावेशी भए त हुन्थे, स्थानीयसँग कुराकानी गर्न सहज हुन्थ्यो,’ उनले भने।
जबाफमा प्रधानमन्त्री बालेन शाहले आफू संघीयताविरोधी नभएको बताएका थिए। साथै उनले सुनसरीलगायत जिल्लामा भएको घटनाबारे निष्पक्ष छानबिन गरिने बताएका थिए।
साथै प्रधानमन्त्री शाहले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा मागेका थिए।
प्रधानमन्त्रीले आजै मधेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामाकेन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा सांसद रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद उपस्थित छन्।