नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले गैरजिम्मवारीका कारण सुनसरीको देवानगंजको घटना मधेसमा फैलिएको आरोप लगाएका छन्।
राष्ट्रिय सभाको बैठकमा आज कर्णले सरकारले सहजीकरणमा गैरजिम्मेवारपूर्ण भूमिका निर्वाह गरेको आरोप लगाए।
'सानो समस्यालाई सहजीकरण गरेको भए देश ठूलो दुर्घटनाबाट जोगिन सक्थ्यो', कर्णले भने, 'प्रहरीको गोलीबाट कसैको मृत्यु भयो भने सरकार र राज्यले जिम्मा लिनुपर्छ। बडो दु:खका साथ भन्नुपर्छ सरकारको गैरजिम्मेवारीका कारण ठूलो दुर्घटना भयो।'
उनले जेनजी आन्दोलनबाट आएको सरकारले नै प्रहरीको गोलीबाट कुनै पनि व्यक्तिको मृत्यु हुँदा प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुने नजिर बसालेकाले दुवैले राजीनामा दिनुपर्ने बताए।
'अहिलेको सरकारले स्थापित गरेको नजिर के छ भने राज्यको गोलीबाट कुनै नागरिकको मृत्यु भयो भने त्यसको जिम्मेवार राज्य हुनुपर्छ। त्यसको जिम्मवारी गृहमन्त्री हुनुपर्छ। त्यसको जिम्मेवार प्रधानमन्त्री हुनुपर्छ', कर्णले भने, 'त्यही नजिर बसालेर जेनजी आन्दोलनमा केही नानी भाइबहिनीको मृत्यु भएपछि तत्कालिन गृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी ओली गिरफ्तार गर्नुभयो। यो देशमा कानुन छ विधी छ भने अब गिरफ्तार गर्ने पालो प्रधानमन्त्री बालेन्द्रको हो। गृहमन्त्रीको हो।'
यद्यपि कर्णले आफूलाई प्रधानमन्त्री दोषी छन् भन्ने नलागेको बताए।
'दोषी प्रधानमन्त्री होइन। उहाँले गोली चलाएको पनि होइन। मलाई थाहा छ। तर उहाँ संवादमा आउन चाहन्नुहुन्न', कर्णले भने, 'यो सरकारबाट ठूलो अपेक्षा थियो। तर सरकार नालायक भएको छ। सरकारले न्यायिक समिति बनाउन सकेको छैन। छानबिन समितिमा कुनै विश्वास छैन। अझै पनि सरकारसँग लज्जा छ र नैतिक जिम्मेवारी छ भने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएर निकास देओस् भन्ने चाहन्छु।'