राप्रपाले हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता वा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताएको छ।
‘राप्रपाको स्पष्ट मान्यता छ कि हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता वा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन। प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको छ। राज्यले संयमता गुमाउँदा र परिस्थितिको सहि विश्लेषण नगर्दा तराई मधेस क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना गर्न बल पुग्न गएको छ,’ आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सुनसरीलगायत जिल्लाहरूमा देखिएको समस्याको समाधान दमन र गोली प्रहारबाट खोजिनु उपयुक्त नहुने पनि राप्रपाको भनाइ छ।
‘लोकतन्त्रको सार संवाद, सहिष्णुता, विधिको शासन र पारस्परिक सम्मानमा निहित हुन्छ। त्यसैले घटनाको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन राप्रपा सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
धार्मिक संवेदनशीलतामाथि प्रहार भइरहेको घटनाको कारण, पृष्ठभूमि, योजनाबद्ध पक्ष, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्व समेतको गहिरो अध्ययन गरी समस्याको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्न राप्रपाले सरकारसँग माग पनि गरेको छ।
‘पटकपटक दोहोरिरहेको यस्ता घटनालाई सधैंको लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाइ सरकारले तत्काल संवादको थालनी गरोस् र आगामी दिनमा यसप्रकारका घटना हुने छैनन् भन्ने सुनिश्चितता प्रदान गरोस् भन्ने राप्रपाको धारणा रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
२०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् राज्यले अवलम्बन गरेको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा अपरिहार्य भएको राप्रपाको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ।