सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग शुक्रबार छलफल गरेका छन्।
पछिल्लो समय विकसित केही घटनाक्रमका पृष्ठभूमिमा समाजमा आपसी एकता कायम राख्न आयोजित उक्त छलफलपछि धार्मिक नेतृत्वले एक संयुक्त विज्ञप्ति समेत जारी गरेका छन्।
छलफलमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मोहम्मद खालिदले मुलुकको विशिष्ट पहिचान र सामाजिक सद्भाव जोगाउन आफूहरू जुनसुकै त्याग गर्न तयार रहेको बताए।
समाजमा कहिल्यै पनि विभाजन नरहेको र आगामी दिनमा पनि एकजुट रहने प्रतिवद्धता व्यक्त गर्दै उनले देशमा शान्ति स्थापनाका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग उनीहरूको माग छ।
छलफल क्रममा धार्मिक अगुवाहरूले एकअर्कासँग हात मिलाउँदै नेपाली समाजमा धार्मिक र सामाजिक सद्भाव अक्षुण्ण रहेको सांकेतिक सन्देश समेत प्रवाह गरेका छन्।
– न्युज एजेन्सी नेपाल