नेकपा एमालेका सांसद गुरू बरालले नेपालको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल र भारतीय सेना सिभिल ड्रेसमा प्रवेश गरेको विषयमा संसदमा प्रश्न उठाएका छन्।
बरालले सुस्तामा भारतीय सेना सिभिल ड्रेसमा प्रवेश गरेका कारण जनता प्रतिवाद गर्न बाध्य भएको बताए।
'देश सिमाना अतिक्रमणको मुद्दाले पीडामा परेको छ। प्रधानमन्त्री यसको संवेदनशिलतालाई महसुस गर्न कति समय संसदले खर्च गर्नुपर्ने हो', बरालले भने, 'सांसदहरूले कति समय ध्यान आकृष्ट गर्नुपर्ने हो। यो अत्यन्त लज्जाको विषय बनेको छ।'
उनले प्रधान्मन्त्रीलाई देशप्रति जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।
साथै, सुनसरीको कप्तानगञ्जमा भएको घटनामा न्यायिक छानबिन समिति गठन गर्न माग गरे।
उनले जलेका घरहरू सवारी साधन र दोकानको सरकारले क्षतिपूर्ति दिने भए पनि भावनात्मक चोटको उपचार हुन नसक्ने बताए।
पश्चिम नवलपरासीस्थित सुस्ता क्षेत्रमा साउन १५ गते १०:४० बजे नारायणी नदीको बाँध इलाकामा भारतीय पक्षले स्टाटस-को मानेको भेलरको रूखदेखि पुरानो बाँधतर्फ नेपालतर्फको जमिनमा स्थानीय बासिन्दाले बाँध बनाइरहको बेला भारतीय सुरक्षाकर्मी रोक्न आइपुगेका थिए।
बिहारको पश्चिम चम्पारण जिल्ला बगाहास्थित भारतीय सशस्त्र सीमा बल २१ बटालियनबाट निमित्त कमाण्डेन्ट सुरेश शर्माको टोलीले बाँध बनाउन कार्यमा अवरोध गरेको थियो।