इरानसँग ५ महिनादेखिको युद्धका कारण अमेरिकाको हतियार भण्डार घट्दै गएको खुलेको छ।
विशेषगरी लामो दूरीमा सटिक प्रहार गर्ने मिसाइल र आक्रमणलाई निस्तेज पार्ने प्रतिरक्षा प्रणालीहरूको भण्डार उल्लेखनीय रूपमा घटेको स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
यसले चीन वा रूसजस्ता देशहरूसँग युद्ध भए अमेरिका कमजोर हुन सक्ने भनेर चिन्ता समेत व्यक्त हुन थालेको छ।
अमेरिकी सेनाले जमिनबाट प्रहार गर्ने आर्मी रणनीतिक मिसाइल सिस्टम (एटिएसिएमएस) र नयाँ पुस्ताको प्रिसिजन स्ट्राइक मिसाइल (पिआरएसएम)को सबै भण्डार प्रयोग गरिसकेको त्यसबारे जानकार रहेका तीन स्रोतलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।
यी दुवै प्रकृतिका मिसाइल एउटा बनाउन १० लाख अमेरिकी डलरभन्दा बढी लाग्छ। यसले लामो दूरीमा अत्यन्त सटिक प्रहार गर्न सक्छ। यसका लगभग सबै भन्डार प्रयोग गरिएको भने पनि वास्तवमा अब कति वटा त्यस्ता मिसाइल अमेरिकासँग बाँकी छन् भनेर भने यकिन छैन। तर त्यो भण्डार तीव्र घटिरहेका छन्।
अमेरिकाले युक्रेनलाई पनि एटिएसिएमएस उपलब्ध गराएको थियो। यसले रूसी भूमिभित्रका विभिन्न सैन्य लक्ष्यहरूमा सटिक आक्रमण गरेको थियो।
पिआरएसएम भने एटिएसिएमएसको स्थान लिने गरी निर्माण गरिएको नयाँ पुस्ताको मिसाइल हो। यो मिसाइल अझै बढी दूरीमा हान्न सक्ने र ठूलो क्षति पुर्याउन सक्ने क्षमताको छ।
यस्ता हतियारको भण्डारण घटेपछि इरानमाथि फेरि ठूलो हमला गर्नुपरे अमेरिकालाई मानवसहितका बमवर्षक विमान प्रयोग गर्नुपर्ने अवस्था आउनसक्ने पनि विश्लेषकहरूको भनाइ छ। मानवसहितका बमवर्षक प्रयोग जोखिमपूर्ण हुन सक्नेछ।
रोयटर्सका अनुसार पछिल्लो एक सातादेखि अमेरिकी प्रशासनभित्र इरानमाथि थप आक्रमण जारी राख्दा अन्य सम्भावित संकटका लागि आवश्यक हतियारको भण्डार अत्यधिक घट्ने हो कि भन्ने विषयमा उच्चस्तरीय छलफल भइरहेको छ।
यसअघि नै अमेरिकी सैन्य अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई प्याट्रियट मिसाइल अवरोधक लगायतका प्रतिरक्षात्मक हतियारको भण्डार पनि तीव्र रूपमा घटिरहेको चेतावनी दिएका थिए।
अघिल्लो साता राष्ट्रपति ट्रम्पले इरानमाथि अर्को भीषण हमला गर्ने सम्पूर्ण तयारी पूरा भइसकेको भए पनि तेहरानकै अनुरोधमा आक्रमण स्थगित गरिएको बताएका थिए।
तर यसका पछाडि अमेरिकी हतियार भण्डार रित्तिँदै गएको भनेर अधिकारीहरूले दिएको चेतावनी मुख्य कारण रहेको रोयटर्सले लेखेको छ।
ट्रम्पले फेब्रुअरीमा इसराइलसँग मिलेर इरानमा आक्रमण सुरू गर्दा युद्ध छिट्टै सकिने दाबी गरेका थिए। तर युद्ध लम्बिँदै गएपछि अमेरिकी सैन्य भण्डारमा दबाब बढेको स्रोतहरूले बताएका छन्।
अनुमान विपरीत इरानले घुँडा नटेकेको र मानवसहितका लडाकू विमान पठाउँदा अत्यन्त जोखिम हुने विश्लेषण गर्दै ट्रम्पले लामो दूरीकै मिसाइल प्रयोग गर्न भनेका थिए। युद्धको स्तर बढेपछि त्यस्ता मिसाइलको प्रयोग व्यापक पनि बन्दै गएको थियो।
रोयटर्सले सोधेको चारमध्ये एक स्रोतले भने अमेरिकी सेनाले आवश्यक परे विश्वभर रहेका आफ्ना अरू सैन्य भण्डारबाट हतियारहरू पुनः आपूर्ति गर्न सक्ने बताए।
उनले अहिले पनि मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधि हेर्ने सेन्ट्रल कमाण्ड (सेन्टकम) ले विश्वभर रहेका अमेरिकी भण्डारबाट आवश्यक मिसाइल ल्याएर पूर्ति गरिरहेको बताए।
ह्वाइट हाउसले भने अमेरिकासँग विश्वका जुनसुकै अरू देशहरूभन्दा धेरै र आवश्यकता भन्दा बढी हतियार रहेको भनेर वक्तव्य सार्वजनिक गरेको रोयटर्सले जनाएको छ।
राष्ट्रपति ट्रम्पले पनि हतियार कारखानाहरूले इतिहासमै सबैभन्दा धेरै मात्रामा हतियार उत्पादन गरिरहेको बताएका थिए। सँगै कारखाना र उपकरणहरूको पनि व्यापक विस्तार भइरहेको उनले बताउँदै आएका छन्।
ट्रम्पले त्यस्तो दाबी गरे पनि रक्षा विश्लेषकहरू भने तोपका गोला र केही साना प्रकारका मिसाइलहरूको मात्रै उत्पादन उच्च रहेको बताउँछन्। त्यस्ता हतियारहरू लामो समयसम्म चल्ने युद्धका लागि पर्याप्त नहुने भनेर ती विश्लेषकहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।
एटिएसिएमएस, पिआरएसएम र थाड मिसाइल अवरोधक बनाउने लकहिड मार्टिनले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
टमाहक क्रुज मिसाइल र प्याट्रियट अवरोधक मिसाइल बनाउने रेथियोनले पनि प्रतिक्रिया दिएको छैन।
पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले भने अमेरिकी सेनासँग राष्ट्रपतिको आदेशअनुसार जुनसुकै समय र स्थानमा कारबाही गर्न आवश्यक सबै क्षमता रहेको दाबी गरे।
'अमेरिकी सेना संसारकै सबैभन्दा शक्तिशाली सेना हो। हामीले विभिन्न कमाण्ड क्षेत्रमा सफल सैन्य अभियान सञ्चालन गर्दै आएका छौं र अमेरिकी जनता तथा राष्ट्रिय हितको रक्षा गर्न पर्याप्त हतियार भण्डार कायम राखेका छौं,' उनले भने।
यस युद्धले अमेरिकी कांग्रेसको स्वीकृतिबिना ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्न पाउने अधिकारबारे पनि बहस चर्काएको छ। अहिलेसम्म कांग्रेसमा औपचारिक रूपमा युद्ध घोषणा वा सैन्य बल प्रयोगको अनुमति मागिएको छैन।
सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सिएसआइएस) ले गत साता सार्वजनिक गरेको प्रतिवेदनमा फेब्रुअरीदेखि जुलाईसम्म अमेरिकाले आफ्नो प्याट्रियट अवरोधक मिसाइलको करिब ६५ प्रतिशत प्रयोग गरिसकेको तथा थाड प्रणालीका अवरोधक मिसाइल करिब ३८ प्रतिशतले घटेको अनुमान गरेको छ।
रोयटर्सका दुई स्रोतका अनुसार यी अनुमान अमेरिकी सरकारको आन्तरिक तथ्यांकसँग मेल खान्छन्। एक स्रोतका अनुसार युद्ध सुरु भएयता अमेरिकाले आफ्नो विश्वव्यापी टमाहक क्रुज मिसाइल भण्डारको पनि झन्डै आधा प्रयोग गरिसकेको छ।
रोयटर्सले भने यो तथ्य स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
टमाहक मिसाइल अमेरिकी नौसेनाले विनाशक युद्धपोत, क्रुजर र पनडुब्बीबाट प्रहार गर्ने प्रमुख लामो दूरीको हतियार हो।
अमेरिकाले आफ्नो हतियार भण्डार पुनः निर्माण गर्न रेथियोनसँग टमाहक मिसाइलको उत्पादन उल्लेख्य रूपमा बढाउने बहुवर्षीय सम्झौताको तयारी गरिरहेको पनि रोयटर्सले जनाएको छ।