नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय पद्धतिमा आधारित कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गरेका छन्।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले अब कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
‘हाम्रो दृष्टिमा संसदीय कम्युनिस्ट आन्दोलन आफ्नो उद्देश्यअनुसार सफल हुन सकेन। सरकारको नेतृत्व गरे पनि राज्यका संरचनामा अपेक्षित परिवर्तन गर्न नसकेकाले यसलाई नयाँ दृष्टिकोणबाट पुनर्गठन गर्न आवश्यक छ,' उनले भने।
संसदीय अभ्यासमा लागेका कम्युनिस्ट पार्टीहरूले दुई–तिहाइ बहुमत नजिक पुगेर पटक–पटक सरकारको नेतृत्व गरे पनि राज्यका निकायहरूमा कुनै ठोस परिवर्तन गर्न नसकेको उनको आरोप छ।
'कम्युनिस्ट शक्तिहरूले आफ्नो लक्ष्य र उद्देश्यलाई स्पष्ट गर्दै केवल एकतामा सीमित नभई जनताका साझा समस्याको समाधान गर्ने व्यापक र एकीकृत आन्दोलन निर्माण गर्नुपर्ने हाम्रो धारणा छ,’ उनले भने।
महासचिव विप्लवले कम्युनिस्टहरूबीचको एकता मात्र पर्याप्त नहुने बताउँदै आम जनताका समस्याहरूलाई सम्बोधन गर्ने गरी एकीकृत आन्दोलन निर्माण गर्नुपर्ने बताए।
कम्युनिस्टहरूले आफ्नो मूल लक्ष्य र उद्देश्यलाई आत्मसात् गर्दै जनतालाई सही दिशा निर्देश गर्नुपर्ने उनले बताए।