अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्।
सभामुख डोलप्रसाद अर्याल (डिपी) ले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै समयमै यो खबर प्रमुख सचेतक र सचेतकहरूले आ-आफ्नो दलका सांसदहरूसम्म पुर्याउन भनेका छन्।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकोले अबदेखि लगाउन नपाइने बताएका थिए।
प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्छन्।
कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको हो।
‘कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिराखेको छ, अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन,’ सभामुखका भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला।’
सभामुखले अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने भनेपछि कांग्रेस प्रमुख सचेतक थापाले प्रधानमन्त्री र मन्त्रीहरू पनि कालो चस्मामै संसदमा उपस्थित हुने गरेकोले सबैलाई यो नियम लागू गर्न भनेकी थिइन्।
‘प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नुभएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नुपर्यो,’ उनले भनिन्, ‘हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनुस् भनौंला।’
यसपछि सभामुख अर्यालले सत्तारूढ दल रास्वपा सचेतक प्रकाशचन्द्र परियारलाई यस विषयमा सरकारलाई पनि जानकारी गराउन आग्रह गरेका थिए।
रास्वपा सचेतक परियारले संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको थियो।
‘संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको थियो,’ उनले भने, ‘सांसदहरू लोगो लगाएर आउनुपर्छ र मर्यादित पोशाकबारे पनि कुरा उठेको थियो।’
नेकपा प्रमुख सचेतक युवराज दुलालले सभामुखले संसदको गरिमा र मूल्यमान्यता कायम राख्नुपर्ने कुरा कार्यव्यवस्था परामर्श समिति बैठकमा गरेको बताए।
‘सभामुखज्यूले संसदको गरिमा र मूल्यमान्यता कायम भएन, विश्वमा कहिँ पनि यस्तो हुँदैन, कोट लगाउनुपर्यो, कालो चस्मा लगाएको राम्रो देखिएन, कम गरौं भन्ने कुरा गर्नुभएको हो,’ उनले भने, ‘हामीले सभामुखले नै यो कुरा सरकारलाई भन्नुहोस् भनेका छौं।’
साथै सभामुखले संसद चलिरहेका बेला सांसदहरू बैठक कक्ष बाहिरको लबीमा धेरै बेरसम्म उभिएर कुराकानी गर्ने गरेकोमा पनि असन्तुष्टि जनाएका छन्।
‘बैठक चलिरहेको हुन्छ, सांसदहरू लबीमा गफ गरिराख्नुहुन्छ, यस्तो गर्न भएन,’ उनको भनाइ थियो।
सभामुखले सांसदहरूलाई कालो चस्मा लगाएर संसद नआउन भनेपछि सांसद, मन्त्री र प्रधानमन्त्रीले अब के गर्छन् भन्ने चासो छ।
हामीले यो कुरा सत्तारूढ रास्वपा सचेतक परियारलाई सोधेका छौं। उनले ‘प्रधानमन्त्रीलाई यो लागू हुनेभन्दा पनि सांसदहरू कसरी मर्यादित बन्ने भन्ने विषयसँग जोडिएको’ बताए।
कार्यव्यवस्था परामर्श समितिमा सभामुखले भनेका कुरा सांसदहरूलाई भने जानकारी गराइने उनले बताए।
प्रतिनिधि सभा नियमावलीमा पोशाक र प्रतीक चिह्नबारे व्यवस्था छ।
प्रतिनिधि सभा सदस्यहरूको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुने व्यवस्था छ।
पोशाख तोक्दा औपचारिक, मौलिक संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषामा ध्यान दिनुपर्ने उल्लेख छ।
संसदमा कालो चस्मा लगाएर उपस्थित सांसदहरू-
-1785999312.jpg)
-1785999312.jpg)
-1785999312.jpg)
-1785999311.jpg)