रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न सहमतिमा पुग्ने सम्भावना रहेको बताएका छन्।
बिहीबार एक आर्थिक मञ्चमा बोल्दै पुटिनले अमेरिका र चीन लगायतका धेरै देशहरू शान्ति सम्झौतालाई समर्थन गर्न तयार रहेको बताए।
'तर, अन्त्यमा यो समस्या द्वन्द्वमा संलग्न देशहरू रुस र युक्रेनद्वारा नै समाधान गरिनुपर्छ,' उनले भने, 'हामी समाधानका लागि योगदान पुर्याउने प्रयास गर्ने सबैप्रति आभारी छौं। के कुनै सम्भावना छ? मेरो विचारमा छ।’
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी वार्ताकारहरू युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः सुरु गर्न छिट्टै मस्को र किभको भ्रमण गर्ने बताएका भनेर बेलायती पत्रिका द गार्डियनले जनाएको छ।
बिहिबारको आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा उक्त भ्रमणका लागि प्रारम्भिक मितिहरू तय भइसकेको उनले बताएका छन्।
‘हामी अमेरिकी राष्ट्रपतिका प्रतिनिधिहरूलाई यहाँ किभमा स्वागत गर्न अपेक्षा गर्छौं,' जेलेन्स्कीले भने, 'मस्को र किभमा उनीहरूसँग बैठक हुनेछ। हामी आउँदो दिनहरूमा उनीहरूसँगको भेटघाटको अपेक्षा गरिरहेका छौं। यो अति महत्त्वपूर्ण छ। अमेरिकाले सक्रियता जारी राख्नु महत्त्वपूर्ण छ।’
गत हप्ता अमेरिकी गुप्तचर संस्था सिआईएका प्रमुख जोन र्याटक्लिफले रूस भ्रमण गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको त्रिपक्षीय शिखर सम्मेलन प्रस्ताव गरेका थिए।
र्याटक्लिफले भ्रमणका क्रममा रूस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प, पुटिन र जेलेन्स्कीको त्रिपक्षीय बैठकको प्रस्ताव पनि गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको थियो।
र्याटक्लिफको भ्रमणको एउटा उद्देश्य रूसी गुप्तचर निकायका प्रमुखले पुटिनलाई युक्रेनसँग अमेरिकाको मध्यस्थतामा पुनः वार्ता सुरु गर्न मनाउन मद्दत गर्न सक्छन् कि सक्दैनन् भनेर बुझ्नु पनि रहेको एक्सियसले जनाएको थियो।
र्याटक्लिफको सो भ्रमण र त्रिपक्षीय बैठकको प्रस्ताव बारे गत शुक्रबार अमेरिकी अधिकारीहरूले जेलेन्स्कीलाई जानकारी गराएका थिए। युद्ध अन्त्य गर्न ट्रम्प सरकारले यस अघि पनि त्रिपक्षीय बैठकको प्रस्ताव अघि सारेको थियो। जेलेन्स्की यसमा सहमत भए पनि पुटिनले यसलाई अस्वीकार गर्दै आएका छन्।
युक्रेनसँगको युद्धमा अप्ठ्यारोमा परेको र स्वदेशमै पनि दबाबमा परेका पुटिनलाई अहिले फेरि त्यस्तो बैठकका लागि अमेरिकाले प्रस्ताव गरेको हो।
त्यसपछि पुटिन र जेलेन्स्की दुवैले युद्ध अन्त्य गर्ने वार्ताबारे सकारात्मक कुरा गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)