अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँसमेत रहेका ज्यारेड कुश्नर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न किभ पुगेका छन्।
रुस–युक्रेन युद्ध अन्त्यका लागि रोकिएको वार्ता पुनः सुरु गर्ने उद्देश्यले उनीहरू आइतबार किभ पुगेका हुन्।
उनीहरूको यो भ्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा करिब तीन घण्टा लामो छलफल गरेको भोलिपल्ट भएको हो।
विटकफ र कुश्नरले शनिबार मस्कोमा पुटिनसँग भेट गरेका थिए।
त्यसपछि उनीहरू शनिबार राति मस्कोबाट पोल्यान्डतर्फ प्रस्थान गरेका थिए। केही घण्टापछि पोल्यान्ड पुगेका उनीहरू त्यहाँबाट स्थलमार्ग हुँदै युक्रेनको राजधानी किभ पुगेका हुन्।
अमेरिकी अनलाइन एक्सियसका अनुसार दुवै पक्षसँग महिनौँदेखि वार्ता गरिरहेका र रुसमा पटक–पटक भ्रमण गरिसकेका विटकफ र कुश्नर पहिलोपटक युक्रेन पुगेका हुन्।
ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि युक्रेन भ्रमण गर्ने उनीहरू अहिलेसम्मकै उच्च तहका अमेरिकी अधिकारीसमेत हुन्।
किभ पुगेपछि विटकफ र कुश्नरले जेलेन्स्की तथा उनका वरिष्ठ सल्लाहकारहरूसँग दुईपटक छलफल गरेको एक्सियसले लेखेको छ। तेस्रो बैठकमा बेलायत, फ्रान्स र जर्मनीका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि सहभागी रहेको बताइएको छ।
वार्तामा युक्रेनले आगामी हिउँदसम्म युद्ध जारी रहन सक्ने अवस्थाका लागि गरिरहेको तयारीबारे पनि छलफल भएको थियो।
बैठकबारे जानकारी राख्ने एक स्रोतका अनुसार कुश्नर र विटकफले भने हिउँद सुरु हुनुअघि नै युद्ध अन्त्यका लागि महत्वपूर्ण सहमति जुटाउन चाहेको बताएका थिए।
जेलेन्स्कीले पनि हिउँदसम्म युद्ध जारी रहने सम्भावनाबारे छलफल भएको पुष्टि गरेका छन्।
‘हामी अमेरिकी साझेदारहरूसँग सहमति गर्न सकिनेमा धेरै आशावादी छौँ। अहिलेको अवस्थाले युद्ध हिउँदसम्म जारी रहन सक्छ। हामी युरोपेली साझेदारहरूको सहयोगमा भर परिरहेका छौँ,’ जेलेन्स्कीको भनाइ उद्धृत गर्दै एक्सियसले लेखेको छ।
दोस्रो बैठकपछि ट्रम्पका दूत विटकफ र कुश्नरले वार्ता ‘सार्थक छलफल’ भएको भन्दै आफूहरू उत्साहित रहेको बताएका थिए। उनीहरूले आगामी दिनमा थप प्रगति गर्न आफूहरू इच्छुक रहेको बताएका छन्।
आइतबारको वार्तामा सहभागी अर्का एक स्रोतले पनि बैठकहरू राम्रो भएको बताउँदै विटकफ र कुश्नरले रुस र युक्रेन दुवै पक्षसँग ‘नयाँ ढंगले परिमार्जित’ शान्ति प्रस्तावमा काम गर्न चाहेको जानकारी दिए।
‘सम्बन्धित सबै पक्षले त्यसको निरन्तरता दिए भने घटनाक्रम सकारात्मक दिशामा अघि बढ्न सक्छ,’ ती स्रोतले भने।
शनिबार पुटिनसँगको भेटपछि अमेरिकी र रुसी अधिकारीहरूले वार्ता सकारात्मक रहेको बताएका थिए।
एक रुसी अधिकारीले विटकफ र कुश्नरले प्रयास गरिरहेको र ‘प्रगति भइरहेको’ बताएका थिए।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार पुटिन, विटकफ र कुश्नरबीच आगामी कदमको योजनाबारे छलफल भएको थियो।
ती योजनाहरू आगामी केही सातामा सार्वजनिक गरिने उनले बताएका छन्।
यो पनिः मस्कोमा अमेरिकी टोलीले पुटिनसँग गरे तीन घन्टा छलफल